काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गोपनीयताको ख्यालै नगरी केही यात्रुहरूको पासपोर्टको विवरण सार्वजनिक गरिदिएको छ । बुधवार यात्रुहरूले विमानस्थलमा पासपोर्ट बिर्सेको भन्दै कार्यालयले फेसबुक पोस्टमार्फत सम्पूर्ण व्यक्तिगत विवरण छरपस्ट हुने गरी फोटो सार्वजनिक गरेको हो ।
“त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा भुलवश पासपोर्ट छोडेर जानुभएका देहायका महानुभावहरूले यसै कार्यालयमा सम्पर्क गरी आफ्नो पासपोर्ट लैजान सक्नुहुन्छ,” फेसबुक पोस्टमा कार्यालयले लेखेको थियो । फेसबुक पोस्टमा राखिएका कुनै पनि फोटोमा संवेदनशील व्यक्तिगत जानकारी छोपिएको थिएन ।
“राज्यको निकायले सकारात्मक रूपमा कुनै काम गर्दा पनि त्यसले व्यक्तिको गोपनीयता, डेटा सुरक्षा आदिमा असर पार्छ कि पार्दैन भन्ने कुरा सोच्नुपर्ने हुन्छ,” यो विषयमा चर्चा गर्दै अधिवक्ता सन्तोष सिग्देलले भने, “उनीहरूले सकारात्मक रूपमा सहयोग हुने गरेरै काम गरेको भए पनि यस्तो कार्य गर्दा त्यहाँ दिइएको विवरणको दुरुपयोग हुने सम्भावना एकदमै धेरै हुन्छ ।”
अधिवक्ता सिग्देलका अनुसार वैयक्तिक गोपनीयता सम्बन्धी हकले जुन डेटा सुरक्षित राख्नुपर्छ बनेर जुन दायित्व तोकेको छ, त्यो दायित्व सरकारी निकायलाई पनि समान रूपले लागु हुन्छ । त्यसैले नागरिकलाई सहयोग गर्ने भावनाले काम गर्दा पनि नागरिकको अधिकार र डेटाको दुरुपयोग नहोस् भन्ने कुरामा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
“यो प्रक्रियामा भन्सार कार्यालयले गर्न त राम्रो काम गर्न खोजेको हो । तर त्यसरी फोटो जस्ताको त्यस्तै राखिदिंदा डेटा सुरक्षाको जोखिम के कति हुन सक्छ ? त्यसको वैकल्पिक तरिका के हुन सक्छ ? यसमा उनीहरूले भित्रै समन्वय गरेर ती मान्छेको ठेगाना, फोन नम्बर वा अन्य कुनै तरिकाबाट सम्पर्क गर्न सकेको भए राम्रो हुन्थ्यो,” सिग्देल भन्छन् ।
पासपोर्टको फोटो राख्दा पनि संवेदनशील जानकारी ब्लर गरेर राखेको भए उपयुक्त हुने सुझाव उनले दिए । तर
कार्यालयका प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालले टेकपानासँग कुरा गर्दै पोस्ट राख्ने कर्मचारीलाई यसबारे जानकारी गराउने बताए ।
“मैंले पोस्ट राख्ने सम्बन्धित कर्मचारीलाई यसबारे जानकारी दिइसकेको छु,” उनले भने, “अहिले पोस्ट डिलिट भइसक्यो ।”