काठमाडौं ।ओटीटी प्लेटफर्म ‘भिडिओपसल’मा नेपाली चलचित्र छक्का पन्जा ४ र झिङ्गेदाउ रिलिज भएका छन् । नेपालीहरूको महान् चाड दशैंको अवसर पारेर शुक्रवार चलचित्र रिलिज गरिएको हो ।
कम्पनीका अनुसार उक्त दुई चलचित्र अहिलेका लागि नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ । दशैंको माहोल पनि भएको र विदेशमा रहेका दर्शकबाट 'छक्का पन्जा ४' र 'झिङ्गेदाउ' को माग उच्च रहेकाले चलचित्र रिजिल गर्न पाउँदा उत्साहित भएको भिडियोपसलका संस्थापक निश्चल पाण्डेले बताए ।
सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ । कम्पनीका अनुसार भिडियो पसलमा २.९९ डलरदेखि ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई फोरके गुणस्तरमा पनि चलचित्र हेर्न सकिन्छ । उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे , गुगल पे,पेपल,डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कलाकार तथा निर्माता समेत रहेका दिपकराज गिरी र दिपाश्री निरौला पनि चलचित्र छक्का पन्जा ४ हेर्न दर्शक निकै नै आतुर रहेको सुनाए । हेमराज बीसीले निर्देशन गरेको फिल्म 'छक्का पन्जा ४' मा दीपकराजसँगै दिपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ ।
पारिवारिक कथावस्तुमा निर्माण भएको 'झिङ्गेदाउ' मा भने अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ । चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । २०१७ देखी सञ्चालनमा रहेको 'भिडियोपसल'मा यस अघि नै कबड्डी ३, जात्रै जात्रा, प्रसाद, साइँली लगायतका चलचित्रहरू रिलिज भई सकेका छन् । एपमा चलचित्र सँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।