close

वैज्ञानिकले तयार पारे छातीको क्यान्सर पत्ता लगाउन सक्ने ब्रा

टेकपाना टेकपाना

कात्तिक ४, २०८० १३:३०

वैज्ञानिकले तयार पारे छातीको क्यान्सर पत्ता लगाउन सक्ने ब्रा

काठमाडौं । सोच्नुहोस् त, तपाईंले आफ्नो ब्रामाथि अल्ट्रासाउन्ड गर्ने एउटा यस्तो उपकरण पहिरिनु भएको छ, जसले चिया पिउँदाको समयमा पनि तपाईंको छातीमा ट्युमर पत्ता लगाउन सकोस् । टर्कीका वैज्ञानिक डाक्टर दादेविरेनले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) को मिडिया ल्याबमा आफ्नो टिमसँग मिलेर यस्तै किसिमको प्रविधि विकास गरेकी छन् । 

यो उपकरण उनले आफ्नी काकीको सम्मानका लागि तयार पारेका हुन्, जो छातीकै क्यान्सरका कारण बितेकी थिइन् । जो महिलालाई छातीको क्यान्सरको खतरा बढी भएर बारम्बार मेमोग्राम गर्ने सल्लाह दिइन्छ, उनीहरूका लागि यो उपकरण सहयोगी हुन क्छ । 

यस्ता महिलाहरू यो उपकरणको माध्यमबाट दुई मेमोग्रामबीच समेत छातीको क्यान्सरको निगरानी गर्न सक्छन् । क्यान्सरको मामिलामा सबैभन्दा बढी बिरामी छातीको क्यान्सरकै हुने गर्छन् । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२० मा २३ लाख महिलाहरूमा छातिको क्यान्सर देखिएको थियो भने छ लाख ८५ हजारको मृत्यु यही रोगका कारण भएको थियो । छातीको क्यान्सर महिलाहरूको मृत्युका लागि दोस्रो सबैभन्दा ठूलो कारण हो । 

अमेरिकन क्यान्सर सोसाइटीको भनाईमा यदि सुरुमै छातिको क्यान्सर पत्ता लागेको र एकै स्थानमा केन्द्रित भएको खण्डमा पाँच वर्षसम्म जीवित रहने दर ९९ प्रतिशत रहेको छ । डाक्टर दादेविरेन भन्छिन् कि उनको उपकरणको सहयोगमा जीवित रहने दर बढाउन मद्दत पुग्न सक्छ, किन कि जो महिलामा ढिलोगरी यो रोगको पहिचान हुन्छ, उनीहरूको जीवित रहने दर केवल २२ प्रतिशत मात्र रहन्छ ।

कसरी काम गर्छ यो डिभाइस ? 

एमआईटीमा पदार्थ वैज्ञानिक र इन्जिनियर जानान दादेविरेनलाई यो उपकरण बनाउने ख्याल त्यतिखेर आयो, जब उनी अस्पतालमा आफ्नी काकीको छेउमा बसेकी थिइन् । उनकी काकी नियमित जाँच गराउँथिन् । 

तर पनि एक दिन उनी एक तीव्र गतिमा बढ्ने छातीको क्यान्सरको चपेटमा रहेको कुरा थाहा भयो । त्यसको छ महिना पछि उनको ज्यान गयो । 

यसमा माहुरीको प्वाँखका आकार जस्ता छ ओटा यस्ता खाँचा छन्, जसमा एक सानो अल्ट्रासाउन्ड क्यामेरा जोड्न सकिन्छ । यो क्यामेरालाई अलग अलग खाँचामा राख्दा हरतर्फबाट छातीको जाँच गर्न सकिन्छ । 

यसको प्रयोगका लागि अल्ट्रासाउन्ड जेल प्रयोग गर्ने आवश्यकता समेत हुँदैन । डाक्टर दादेविरेन भन्छिन् कि यसले ०.३ सेन्टिमिटरको सानो गाँठो समेत पत्ता लगाउन सक्छ ।

 सुरुमा बन्ने गाँठाको आकार यति मात्र हुन्छ । उनी भन्छिन्, "यसको मतलब हुन्छ कि कुनै प्रकारको असामान्यता पत्ता लगाउन यो निकै सटीक हुन्छ ।" 

के हो मेमो ग्राम ? 

मेमोग्राम छातीको क्यान्सर पत्ता लगाउनका लागि सबैभन्दा प्रचलित तरिका हो । यसमा छातीको एक्स-रे गरेर गाँठागुँठी पत्ता लगाइन्छ । 

रेडियोग्राफर एकएक गरेर छातीलाई मसिनमा लगाइएका दुई समतल प्लेटको बीच राख्छन् । यी प्लेट केही समयका लागि छातिलाई दबाउँछन् । 

यसबाट महिलाहरूलाई हलुका दबाब महसुस हुन्छ र उनीहरू असहज समेत महसुस गर्न सक्छन् । केही महिलाहरूको यो प्रक्रिया दर्दनाक लाग्न सक्छ । 

तर यसको प्रक्रिया निकै चाँडो पूरा हुनेछ गर्छ । यद्यपि मेमोग्राम गर्नु महँगो पनि हुन्छ । कयौं देशमा यसको खर्च सरकारी स्वास्थ्य व्यवस्था अन्तर्गत नलिने नीति पनि बनाइएको पाइन्छ । 

केही महिलालाई किन हुन्छ धेरै पीडा ? 

रेडियोग्राफरका अनुसार हरेकको छाती अलग हुने गर्छ र उनीहरूमा ग्रन्थिहरू तथा मोटोपनाको मात्रा पनि अलग अलग रहेको हुन्छ । जो महिलामा ग्रन्थिवाला तन्तु बढी हुन्छ, मेमोग्रामको समयमा उनीहरूलाई मोटोपन बढी भएका छातीको तुलनामा बढी असुविधा महसुस हुन सक्छ । 

साथै हर्मोन रिप्लेसमेन्ट थेरापी (एचआरटी) का कारण समेत छाती संवेदनशील हुन सक्छ । मेमोग्राम गराउने अनुभवलाई लिएर महिलाले के सोच्छिन् भन्ने विषयले समेत पीडा महसुस हुने कुरामा फरक पार्न सक्छ । 

मेमोग्रामको तौरान हुने असहजताबाट जोगिन केही सहज तरिका छन् । जस्तै कि महिनावारी हुन एक हप्ता बाँकी छ भने मेमोग्राम नगर्ने । अथवा मेमोग्राम भन्दा पहिला पारासिटामोल खाने । 

कसका लागि हो यो डिभाइस ? 

शोध अनुसन्धानले बताउँछन् कि एक मेमोग्राम पश्चात अर्को मेमोग्राम गर्ने अवधि बीचमा समेत छातीको क्यान्सर विकसित हुन सक्छ । यसलाई इन्टरभल क्यान्सर भन्न सकिन्छ । 

छातीको क्यान्सरका कूल मामिलामा यस प्रकारको क्यान्सर २० देखि ३० प्रतिशत हुन्छ । एमआईटीको टिमको भनाई छ कि यस दौरान हुने ट्युमर नियमित चेकअपका दौरान देखिने गाँठागुँठीको तुलनामा बढी खतरनाक हुन्छन् । 

यस्तोमा यो उपकरणलाई सुरुमा त्यस्ता महिलाहरूलाई दिन सकिन्छ, जसलाई क्यान्सर हुने खतरा बढी हुन्छ । यसबाट उनीहरूले दुई मेमोग्राम अथवा स्वपरीक्षणका बीच बन्ने गाँठागुँठी पत्ता लगाउन सहयोग पुग्न सक्छ । 

तर शोधकर्ताहरूको भनाई छ कि यदि यो उपकरणबाट कुनै प्रकारको असामान्यता पत्ता लाग्ने बित्तिकै मेमोग्राम गराउन जरुरी हुनेछ । 

कहाँ बनाइएको हो ? 

पहिरिन मिल्ने स्वास्थ्य उपकरणमा काम गर्ने एमआईटीको टिमलाई यो उपकरण बनाउन साढे छ वर्षको समय लाग्यो । यसै वर्षको अगस्टमा यसलाई अमेरिकामा पेटेन्ट प्राप्त भयो र अहिले मानिसहरूमा यसको परीक्षण गरिंदैछ । 

एक उपकरणको मूल्य एक हजार अमेरिकी डलर (करिब एक लाख ३३ हजार रुपैयाँ ) हुनेछ । तर आविष्कारकहरूको भनाईमा भारी मात्रामा उत्पादन भएको खण्डमा यसको मूल्य कम हुँदै जानेछ । त्यसो हुन चारदेखि पाँच वर्ष लाग्न सक्छ । 

शोध गर्ने टिमको अनुमान छ कि यदि तपाईं हरेक दिन यसको सहयोगमा स्क्यान गर्नुहुन्छ भने यसको मूल्य एक कप कपीभन्दा पनि कम पर्न आउनेछ । 

आशाको किरण

शोधहरू बताउँछन् कि विकासशील देशहरूमा छातीको क्यान्सरबाट हुने मृत्युदर बढी हुनुको कारण क्यान्सर ढिलो गरी थाहा हुने र राम्रो स्वास्थ्य सुविधा नहुनु हो । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार बढी आय हुने मुलुकमा पाँच वर्षसम्म जीवित रहने दर ९० प्रतिशतभन्दा बढी हुन्छ । जब कि नेपाल जस्ता देशमा केवल ४० देखि ६० प्रतिशत मात्र हुन्छ । यो उपकरणलाई शरीरका अन्य हिस्साको स्क्यानमा समेत प्रयोग गर्न सकिन्छ । 

डाक्टर दादेविरेन गत वर्ष जब गर्भवती थिइन्, त्यतिखेर उनले यसलाई आफ्नो शिशु स्क्यान गर्न प्रयोग गरेकी थिइन् । उनी भन्छिन्, "मेरी काकी निकै कम उमेरकी थिइन् । केवल ४९ वर्षकी । उहाँले कहिल्यै पनि सोच्नु भएको थिएन होला यसरी उनको ज्यान जाला भनेर । उहाँले यस्तो ब्रा लगाउने गरेको भए के हुन्थ्यो होला ?"

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०८० १३:३०