काठमाडौं । ग्राफिक्स डिजाइनिङ गर्दा उच्च गुणस्तरका भेक्टर इमेज (तस्वीर) वा आइकन निकै महत्त्वपूर्ण हुन्छन् । इन्टरनेटमा उपलब्ध सबै इमेज वा आइकनको गुणस्तर उच्च नहुन सक्छ । त्यसैले हामीले काम चलाउ गरी कम गुणस्तरकै आइकन प्रयोग गरिरहेका हुन्छौं । त्यस्तै कतिपय अवस्थामा हामीसँग भएको लोगोको क्वालिटी निकै घटिसकेको हुन्छ । त्यस्तोमा उस्तै किसिमको हाई क्वालिटीको लोगो बनाउन सकस पर्छ । तसर्थ हामी ब्लर भएकै लोगो भए पनि प्रयोग गर्न वाध्य हुन्छौं ।
त्यस्तै कहिलेकाहीं तपाईंले क्लाइन्टबाट ग्राफिक्स बनाउने काम पाउनु भयो भने पनि उनीहरूले कम गुणस्तरका लोगो पठाएका हुन्छन् । त्यस्तोमा हामीलाई उक्त लोगोको गुणस्तर उच्च बनाउने टुलको आवश्यक परेको हुन्छ । आज हामी एउटा त्यस्तो टुलको चर्चा गर्दैछौं, जसको सहायताले तपाईं ब्लर भएको भेक्टर इमेज वा आइकनलाई उच्च गुणस्तरको बनाउन सक्नुहुन्छ ।
- सबैभन्दा पहिले यहाँ क्लिक गरी भेक्टराइजर डट एआईको वेबसाइटमा जानुहोस् ।
-अनि 'पिक इमेज टु भेक्टराइज' को बटनमा ट्याप गर्नुहोस् ।
- यति गरेपछि आफूले क्वालिटी बढाउन चाहेको भेक्टर इमेज वा आइकन छान्नुहोस् ।
- अनि त्यसलाई केही बेर प्रोसेसिङ हुन दिनुहोस् ।
- त्यसको केही समयपछि भेक्टाइज भएको फोटो देखा पर्छ ।
- पीसीमा ब्राउजर खोल्नु भएको छ भने पहिले र भेक्टराइज भएको नयाँ दुवैलाई तुलना गरेर राखिएको हुन्छ । तर, फोनमा ब्राउजर खोली उक्त वेसाइट प्रयोग गर्नु भएको छ भने रिजल्टको फोटो मात्र देखिन्छ ।
-र, अन्तिममा माथि डाउनलोडको आइकन देखिएको हुन्छ त्यसैमा क्लिक गरी भेक्टराइज इमेज डाउनलोड गर्नुहोस् ।
यो तरिका अपनाउँदा टेक्स्ट वा अन्य भेक्टर इमेज वा आइकनको क्वालिटी बढ्छ । तपाईंले आफूले खिचेको फोटोलाई यो प्रक्रियाद्वारा भेक्टराइज गर्नुभयो भने फोटो भेक्टरमा परिणत हुन्छ । अर्थात कार्टुन जस्तो देखिन्छ । विभिन्न सामाजिक सञ्जालमा प्रोफाइल पिक्चर राख्न चाहनु भएको छ भने यो प्रक्रिया अपनाएर तस्वीरलाई भेक्टराइज बनाउन सक्नुहुन्छ ।