काठमाडौं । हाम्रा मोबाइल फोनका लागि सबै ठाउँ सुरक्षित र विश्वसनीय हुन्छन् भन्ने हुँदैन । त्यस्ता ठाउँमा फोन अनलक गरेर राखियो भने अन्य कसैले अनुमति बिनै प्रयोग गरिदिन सक्छन् ।
तर, हाम्रो कोठा भने त्यस्ता ठाउँभन्दा सुरक्षित हुन्छ । त्यस्तै कतिपय यस्ता ठाउँ पनि हुन्छन्, जहाँ हामी निर्धक्क आफ्नो फोन राख्न सक्छौं ।
के तपाईंलाई थाहा छ आफू मात्र हुने वा आफ्नो फोन जसले प्रयोग गरे पनि केही फरक नपर्ने ठाउँका लागि फोनमा स्मार्ट लक राख्न सकिने फिचर ? यो यस्तो सुविधा हो, जहाँ तपाईंले आफ्नो फोन सुरक्षित हुने ठाउँ छान्नुपर्ने हुन्छ । त्यसपछि उक्त ठाउँमा पुग्ने बित्तिकै तपाईंको फोनमा भएको पिन, प्याटर्न, पासवर्ड वा फेसलक आफैं हट्छ र स्क्रिन स्लाइड गर्ने बित्तिकै फोन खुल्छ ।
एन्ड्रोइडमा हुने यो फिचर प्रयोग गर्दा फोनले शरीर छोइरहेको, विश्वासिलो ठाउँमा वा विश्वासिलो डिभाइससँग कनेक्ट भएको छ भने लक लाग्दैन ।
कसरी राख्ने स्मार्ट लक ?
- सबैभन्दा पहिला आफ्नो मोबाइलको सेटिङमा जानुहोस् ।
- अनि माथि रहेको सर्चको अप्सनमा जानुहोस् ।
- त्यसपछि स्मार्ट लक (Smart Lock) को अप्सन सर्च गर्नुहोस् ।
- यति गरेपछि त्यहाँ देखिएको (Smart Lock) को अप्सनमा ट्याप गर्नुहोस् ।
- अब पुनः स्मार्ट लक (Smart Lock) अप्सनमा जानुहोस् ।
- त्यसपछि आफ्नो फोनमा राखेको पिन, पासवर्ड वा प्याटर्न जे छ, त्यही राख्नुहोस् ।
- यति भएपछि तीन ओटा अप्सन देखिन्छन्ः एउटा अन-बडी डिटेक्सन, ट्रस्टेड डिभाइस र ट्रस्टेड डिभाइस । यसमा अन-बडी डिटेक्सन भन्नाले तपाईंको फोन तपाईंको शरीरसँग टाँसिएको छ भने त्यस्तो अवस्थामा फोन लक हुँदैन । तर फोन चोरी हुँदा यस्तो फिचरको दुरुपयोग हुन सक्छ । त्यस्तै ट्रस्टेड डिभाइसको अप्सन अन गर्दा तपाईंको डिभाइस विभिन्न ब्लुटुथ डिभाइसमा कनेक्ट भएको छ भने फोनमा त्यस्तो बेला लक लाग्दैन । अन्तिममा रहेको ट्रस्टेड प्लेस त्यस्तो अप्सन हो, जसलाई अन गर्नुअघि तपाईंले ट्रस्टेड ठाउँ छनोट गर्नुपर्ने हुन्छ । उक्त ठाउँ छनोट गरिसकेपछि त्यहाँ पुग्दा डिभाइसमा लक लाग्दैन । अर्थात् पहिले राखेको पिन, प्याटर्न, पासवर्ड, फिङ्गरप्रिन्ट वा फेस लक प्रयोग नगरिकनै फोन अनलक गर्न सकिन्छ ।
- यो फिचर सुरु गर्नका लागि सबैभन्दा पहिले इन्टरनेट कनेक्ट गरेको हुनुपर्छ त्यसपछि ट्रस्टेड ठाउँ छान्नुहोस् ।
- अब माथिकै जस्तो तरिका अपनाएर ट्रस्टेड प्लेसको अप्सन देखिने पेजसम्म पुग्नुहोस् ।
- त्यसपछि अन्तिममा रहेको एड ट्रस्टेड प्लेस (Add trusted place) को अप्सनमा ट्याप गर्नुहोस् ।
- लोकेसन छान्नका लागि गुगल म्याप्स दिइएको हुन्छ । त्यसमा तपाईंले आफ्ना लागि विश्वासिलो ठाउँ छान्नुपर्ने हुन्छ । अनि सेलेक्ट दिस लोकेसनको अप्सनमा ट्याप गर्नुहोस् । यति भइसकेपछि ओके अप्सन थिच्नुहोस् । त्यसपछि तपाईंको डिभाइसका लागि ट्रस्टेड ठाउँ छानिन्छ ।