close

अन्य ग्रहमा पनि जानुपर्छ भन्ने सोच एलन मस्कलाई कसरी पलायो होला ?

टेकपाना टेकपाना

कात्तिक १०, २०८० १२:४

अन्य ग्रहमा पनि जानुपर्छ भन्ने सोच एलन मस्कलाई कसरी पलायो होला ?

काठमाडौं । कुरा सन् १९८० तिरको हो । त्यतिबेला एलन मस्क ९-१० वर्षका थिए । उनी स्कुलमा राम्रै विद्यार्थी थिए । अङ्ग्रेजी र गणितमा प्राय ‘ए’ ग्रेड नै आउँथ्यो । “कुनै पनि गणितीय अवधारणा बुझ्नमा मस्क माहिर थिए,” उनका एक शिक्षकले भनेका थिए । यद्यपि उनको रिपोर्ट कार्डमा लेखिएको थियो, “उनी एकदमै सुस्त काम गर्छन् । कि अनावश्यक सपना देखिरहेका हुन्छन्, कि गर्नै नहुने काम गरिरहेका हुन्छन् । स्कुलबाट गर्न दिइएका कतिपय काम उनी समयमा सक्दैनन् । अर्को वर्ष उनले शिक्षकले भनेका काममा ध्यान दिनुपर्छ र दिउँसै अनावश्यक सपना देख्न हुँदैन ।”

शिक्षकबाट यस्ता प्रतिक्रिया पाइरहने एलन मस्कले हाई स्कुलमा जानुअघि परीक्षामा प्राय: ८० प्रतिशतकाे हारहारीमा अंक ल्याउँथे । उक्त स्कुलमा मस्कलाई कुटपिट गर्ने र जिस्क्याउने विद्यार्थी बढी भएपछि उनका बुवाले उनलाई एक निजी स्कुलमा सार्ने निर्णय गरे । र, पछि मस्क प्रिटोरिया ब्वाइज स्कुलमा भर्ना भए ।

अङ्ग्रेजी मोडेलमा आधारित उक्त स्कुलमा कडा नियमहरू पालना गर्नुपर्थ्याे । विशेषगरी उनले स्कुलको ड्रेस अनिवार्य लगाउनुपर्ने हुन्थ्यो । उक्त स्कुलमा मस्कले दुई ओटा विषय बाहेक अरू सबैमा राम्रो अङ्क ल्याए । दुई विषय अफ्रिकन् जसमा ६१ प्रतिशत ल्याएका थिए भने धार्मिक निर्देशनमा त्योभन्दा पनि कम अङ्क ल्याएका थिए । 

“म जे कुराहरू अर्थपूर्ण छैनन् भन्ने ठान्छु त्यसमा खासै मेहनत र लगाव लगाउँथिन,” उनी भन्छन्, “त्यसको सट्टा बरु म पुस्तक पढेर वा भिडिओ गेम खेलेर समय बिताउँथे ।”

उनले उच्च तहको जाँचमा भौतिक शास्त्रमा ‘ए’ ग्रेड ल्याएका थिए । तर, गणितमा भने अप्रत्याशित रूपमा उनले ‘बी’ ग्रेड मात्र ल्याए । आफ्नो फुर्सदको समयमा मस्क स-साना रकेट बनाउने र अन्य विभिन्न एक्सपेरिमेन्ट गर्थे । एक्सपेरिमेन्टमा पनि उनी पानीबाट ठूलो धमाका निस्केको हेर्न स्विमिङ पुलमा क्लोरिन र ब्रेक फ्ल्युड मिसाएर परीक्षण गर्थे । 

मानिसहरूलाई हाइपोटाइज कसरी गर्ने भन्ने थाहा पाउनका लागि उनी जादुका चालहरू पनि उत्तिकै रुचि दिएर सिक्थे । सानैमा एक पटक उनले आफ्नी बहिनी टोस्का मस्कलाई तिमी कुकुर हो भनेर विश्वस्त बनाई झुक्याएर काँचो बेकन खान लगाएका थिए । पछि अमेरिकामा मस्कले त्यही ट्रिक अपनाए ।

खास भएको के थियो भने उनका भाइ किम्बल र बहिनी टोस्काले इस्टर (क्रिश्चियनहरूको एक किसिमको चाड) को अवसरमा व्यवसाय गर्ने आइडिया निकाले । उनीहरूले चकलेटको अण्डा बनाएर र त्यसलाई अल्मुनियम फ्वाइलमा बेरे । अनि घरको ढोका ढोकामा गएर बेच्न थाले । तर, मस्कका भाइ किम्बललाई त्यसरी बिक्री गर्ने तरिका चित्त बुझेको थिएन । त्यसैले उनले उक्त चकलेट बेच्ने नयाँ योजना बनाए । त्यसपछि किम्बलकै योजना अनुसार उनीहरूले ती चकलेट स्टोरमा भएका इस्टर एगभन्दा सस्तोमा बेच्नुभन्दा महँगैमा बेच्न थाले ।

“केही मानिसहरू चकलेट खरिद गर्दा महँगो भयो भनेर झुक्किए पनि,” मस्क भन्छन्, “तर, तपाईंले यी चकलेट अलिकति महँगोमा खरिद गरेर भविष्यका उद्यमीलाई समर्थन गर्दै हुनुहुन्छ भनेपछि उनीहरू दङ्ग परेर चकलेट महँगोमा भए पनि खरिद गर्थे ।” 

मस्क अरू कामभन्दा पढाइमा नै बढी तल्लीन हुन्थे । उनी दिन त छँदै छ र रातिमा पनि अबेरसम्म पुस्तक पढिरहेका हुन्थे । आफ्ना आफन्त वा कोही नजिकको मान्छेको घरमा जाँदा उनी त्यहाँ सबैभन्दा पहिले पुस्तकालय खोज्थे र त्यही गएर पुस्तक निकालेर पढ्न थाल्थे । 

उनको परिवार कतै सहरमा निस्किँदा मस्कको नजर पुस्तक पसलतिरै हुन्थ्यो । कतै पुस्तक पसल देख्यो कि उनी त्यहाँ जान्थे र भूईँमै बसेर भए पनि पुस्तक पढ्थे । 

मस्क सुपरहिरोको जोसले प्रभावित थिए । “उनीहरू (सुपरहिरो) जहिले पनि संसारलाई बँचाउने प्रयास गरिरहेका हुन्छन्,” बाल्यकाल स्मरण गर्दै मस्क भन्छन्, “उनीहरूले लगाउने अन्डरप्यान्ट वा छालामा टाइट हुने फलामका सुटहरू लगाएका हुन्छन् । जो सोच्दा पनि अनौठो लाग्छ । जे भए पनि उनीहरूले आफ्नो तवरबाट संसारलाई बचाउन खोजिरहेका हुन्छन् ।”

यस्ता विचारबाट प्रभावित मस्क पनि आफूले कुनै न कुनै रूपमा पृथ्वी, मानव जाती तथा मानवतालाई बचाउनुपर्छ भन्ने सोच्थे ।

त्यति सानो उमेरमा पनि मस्कले उनका बुवासँग भएका इन्डोनेसियाका दुवै सेट पढेर सकेका थिए । त्यसैले उनी आफ्नी आमा र बहिनीको नजरमा ‘प्रतिभाशाली बालक’ थिए । अन्य बच्चाहरूका लागि भने मस्क बेवकुफ थिए । अरूलाई साथी नबनाउने र घुलमिल नहुने स्वभावका मस्कलाई त्यही कारण अन्य बच्चाबच्चीले मन पराउँदैनथे । 

“त्यो चन्द्रमा हेर्नुस् त, त्यो लाखौं माइल्स टाढा होला है,” एक पटक मस्ककी बहिनीले भनेकी थिइन् । जवाफमा मस्कले भने, “लाखौं होइन । त्यो दुई लाख ३९ हजार माइल्स मात्र टाढा छ । त्यो दूरी पनि पृथ्वीको कक्षमा निर्भर हुन्छ ।”

मस्कले बुवाको अफिसमा फेला पारेको एउटा पुस्तकमा भविष्यमा निकै उपयोगी हुनसक्ने आविष्कारको बारेमा चर्चा गरिएको थियो । “म स्कुलबाट फर्किन्थें, अनि बुवाको अफिसको साइड रुममा जान्थें,” मस्क भन्छन्, “त्यसपछि त्यही एउटै पुस्तक धित नमरुन्जेल पढ्थें ।”

त्यही पुस्तकमा रकेट सञ्चालन गर्दा 'आयन थ्रस्टर' प्रयोग गरियो भने त्यसले थ्रस्टका लागि ग्यासभन्दा पार्टिकल्स प्रयोग गर्ने विषय उल्लेख थियो ।‍ पछि एक रात दक्षिण टेक्ससमा रहेको मस्कको रकेट कन्ट्रोल रूममा उनले लेखक वाल्टर आइज्याक्सनलाई उक्त पुस्तकको बारेमा बताएका थिए ।

विशेषगरी आयन थ्रस्टरले भ्याक्युममा कसरी काम गर्छ भन्ने विषयमा समेत आइज्याकसनलाई बुझाएका थिए । “त्यो नै पहिलो पुस्तक हो, जसले मलाई बाह्य ग्रहमा जानुपर्छ भन्ने कुरा सोच्न बाध्य बनाएको थियो,” मस्कले भने । 

(यो लेख सीएनएनका पूर्व सीईओ वाल्टर आइज्याक्सनले लेखेको पुस्तक ‘एलन मस्क बाई वाल्टर आइज्याक्स’बाट अनुवाद गरी साभार गरिएको हो । १२, सेप्टेम्बर २०२३ मा सार्वजनिक भएको उक्त पुस्तकमा एलन मस्कको बाल्यकालदेखि उनले हालै स्थापना गरेको कम्पनी एक्स एआईसम्मका प्रसङ्ग समेटिएका छन् । नेपाली बजारमा यो पुस्तकको मूल्य दुई हजार ४०० रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय बजारमा २०.९९ डलर राखिएको छ ।)

पछिल्लो अध्यावधिक: माघ ४, २०८१ १३:४०