close

आईफोनमा फोटो डिलिट गर्दा समेत स्टोरेज ओगटिरहने समस्या छ ? यसरी गर्नुहोस् समाधान

टेकपाना टेकपाना

कात्तिक ११, २०८० ११:५६

आईफोनमा फोटो डिलिट गर्दा समेत स्टोरेज ओगटिरहने समस्या छ ? यसरी गर्नुहोस् समाधान

काठमाडौं । आईफोन प्रयोगकर्तालाई आईक्लाउड स्टोरेज फुल भएको भन्ने नोटिफिकेसन फिटिक्कै मन पर्दैन । आईक्लाउड स्टोरेज फुल हुँदा क्लाउडमा फोटो तथा भिडिओ ब्याकअपका लागि राख्न सकिँदैन । 

फोनमा आईक्लाउड स्टोरेज फुल भयो भन्ने नोटिफिकेसन आयो भने प्रयोगकर्ता हतारहतार आफूलाई आवश्यक नहुने ठूला साइजका फोटो र भिडिओहरू हटाउँछन् । तर, कतिपय अवस्थामा फोटो वा भिडिओ हटाइसक्दा पनि आईक्लाउड स्टोरेज फुल भएको नोटिफिकेसन आइरहन्छ ।

आज हामी बारम्बार आइक्लाउड स्टोरेज फुल भयो भन्ने नोटिफिकेसन आउने समस्या कसरी हटाउने भन्ने विषयमा चर्चा गर्दैछौं । ​यी तरिका अपनाउनु भयो भने आइक्लाउड खाली हुँदा पनि फुल भयो भनिरहने नोटिफिकेसन आउँदैन । 

हालसालै डिलिट गरेको फोल्डर हेर्नुहोस्

आईक्लाउडबाट फोटो हटाइसक्दा पनि स्टोरेज फुल हुने समस्या आउनुको एउटा कारण हो ‘रिसेन्ट्ली डिलिटेड एल्बम’ । फोटोज एपमा हुने उक्त एल्बमले जति पनि फोटो मुख्य एल्बमबाट डिलिट भएका छन्, तिनलाई आफूमा सार्छ । यसलाई रिसाइकल बिन एल्बम भनेर पनि बुझ्न सक्नुहुन्छ ।

फोटो उक्त एल्बममा आएको ३० दिनपछि मात्र सधैंका लागि डिलिट हुन्छ । यसको अर्थ तपाईंले मुख्य फोल्डरमा भएका फोटो डिलिट गरे पनि ती फोटो उक्त एल्बममा बसेका हुन्छन् । र, उक्त एल्बम आईक्लाउडसँग सिङ्क भएको हुन्छ ।

प्रायः प्रयोगकर्ताले मुख्य फोल्डरबाट फोटो वा भिडिओ डिलिट गरे पनि उक्त एल्बमबाट भने डिलिट गर्न बिर्सेका हुन्छन् । किनभने ‘रिसेन्टल्ली डिलिटेड’ फोल्डर सधैं देखिने ठाउँमा हुँदैन । 

त्यसैले आइक्लाउड स्टोरेजमा भएको फोटोज सेक्सनले डिलिट भएका फोटोको स्टोरेज पनि खपत गरेको छ भने सो फोल्डरमा भएका सबै फोटो सधैंका लागि डिलिट गरिदिनुहोस् । तर, याद गर्नुहोस् त्यस फोल्डरमा तपाईंका आवश्यक फोटो पनि भण्डारण भएका हुनसक्छन् । 

यदि यसो गर्दा पनि समस्या समाधान भएन भने तलका अन्य तरिका अपनाउनुहोस्: 

आईफोन रिस्टार्ट गर्नुहोस् 

सिस्टम रिबुट गर्दा फोनमा आएका कतिपय बग तथा इरोर आफै समाधान हुन्छन् । यदि तपाईंले आईफोनबाट मिडिया फाइल हटाउनु भएको छ भने तपाईंले फोन रिस्टार्ट गर्नुपर्ने हुन्छ । त्यसले अनावश्यक रूपमा आईक्लाउड स्टोरेज फुल भएको देखाउने समस्या समाधान गरिदिन सक्छ । 

पछिल्लो आईओएस सफ्टवेयर अपडेट इन्स्टल गर्नुहोस्

नयाँ आईओएस अपडेट आइसकेको छ तर तपाईं पुरानै प्रयोग गरिरहनु भएको छ भने त्यस्तो बेला यस्ता समस्या देखा पर्छन् । पुरानो ओएसमा भएका बग तथा कमजोरी समाधान गर्नका लागि नै कम्पनीले नयाँ ओएस अपडेट ल्याउने गर्छन् ।

यदि तपाईंको आईफोनमा अनावश्यक रूपमा आईक्लाउड स्टोरेज फुल भइरहेको देखायो भने पछिल्लो भर्सनको आईओएस सफ्टवेयर अपडेट गर्नुहोस् । 

आईओएस सफ्टवेयर अपडेट गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

  • सबैभन्दा पहिले सेटिङ (Setting) एप खोलेर जेनेरल (General)मा जानुहोस् । 

  • त्यसपछि सफ्टवेयर अपडेटमा ट्याप गर्नुहोस् । 

  • यदि नयाँ भर्सन उपलब्ध छ भने, डाउनलोड एन्ड इन्स्टल (Download and Install) मा ट्याप गर्नुहोस् । 

पुरानो फोटोको डेट एन्ड टाइम मोडिफाइ गर्नुहोस्

आईक्लाउड स्टोरेज अनावश्यक रूपमा फुल भएको देखाउने समस्या कसरी समाधान गर्ने भन्ने वास्तविक तरिका छैन । त्यसैले कतिपय अवस्थामा तपाईंले डिलिट गरिसकेको फोटो वा भिडिओ डिभाइसमा कतै लुकेर बसेको हुँदा त्यस्तो समस्या आएको हुनसक्छ ।

तपाईंले त्यस्ता फोटो डिभाइसमा छन् भन्ने थाहा नहुन सक्छ । त्यसबाहेक पनि एल्बममा नदेखिने भएपछि फोटो छ भन्ने थाहा हुने कुरा पनि भएन । 

तलको तरिका अपनाएर तपाईं उक्त समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ:

  • सबैभन्दा पहिले सेटिङ (Setting) खोलेर जेनेरल (General) को अप्सन छान्नुहोस् । 

  • अनि, डेट एन्ड टाइम (Date and Time) को अप्सनमा जानुहोस् । 

  • त्यहाँ सेट अटोम्याटिकल्ली (Set Automatically) भन्ने अप्सन इनेबल भएको हुन सक्छ । त्यो अप्सन अफ गर्नुहोस् । 

  • त्यसपछि म्यानुअल्ली बितिसकेका वर्षको समय छान्नुहोस् । 

  • यति गरिसकेपछि फोटोज एप खोल्नुहोस् । अनि रिसेन्टदेखि रेसेन्टल्ली डिलिटेड सबै एल्बम देख्न सक्नुहुन्छ । 

  • यदि त्यहाँ अनावश्यक फोटो छन् वा पुरानो काम नलाग्ने फोटो छन् भने त्यसलाई हटाउनुहोस् । 

स्टोरेज कम गराउनका लागि यो तरिका उपयुक्त हुन सक्छ । यो काम सकिसकेपछि पुनः माथिकै तरिका अपनाएर सेट अटोम्याटिकल्लीको अप्सन अन गर्नुहोस् । 

आईक्लाउड सिङ्कको अप्सन डिसेबल गर्नुहोस्

आईक्लाउड फोटोजले आईफोनमा भएका फोटो स्वतः आईक्लाउडमा भण्डारण गर्न सघाउँछ । यसो गर्दा तपाईंको फोटोहरू ब्याकअपका रू‍पमा क्लाउडमा भण्डारण हुन्छन् । तर, यता स्टोरेज पनि उत्तिकै खपत् गरेका हुन्छन् । 

आईक्लाउड स्टोरेज फुल  हुने समस्या समाधान गर्न तपाईंले अस्थायी रूपमा आईक्लाउड सिङ्कको अप्सन डिसेबल गर्नुपर्ने हुन्छ । यसो गर्दा तपाईंको डिभाइसमा देखिएको आईक्लाउड स्टोरेज फुल देखिने समस्या समाधान हुन सक्छ ।

याद गर्नुहोस् यो तरिका अपनाउनुभन्दा पहिले आफ्नो डिभाइसमा भएका फोटो व्याकअपमा रहेको सुनिश्चित गर्नुहोस् । किनभने यस प्रक्रियाका क्रममा फोटो हट्न सक्छन् । आईक्लाउड फोटोज सिंक हुने फिचर बन्द गराउन तलको प्रक्रिया अपनाउनुहोस्:

  • सबैभन्दा पहिले सेटिङमा गएर आफ्नो एप्पल आईडीको प्रोफाइलमा ट्याप गर्नुहोस् । 

  • अनि आईक्लाउडमा गएर फोटोजको अप्सन छान्नुहोस् । 

  • सिङ्क दिस आईफोन (Sync this iPhone) को अप्सन डिसेबल गर्नुहोस् । 

स्टोरेजका लागि आईफोन फोटोज अप्टिमाइज गर्नुहोस्

यदि तपाईंले खिचेका वा भण्डारण गरेका फोटोले बढी स्टोरेज खपत गरिरहेका छन् भने अप्टिमाइजेसनको अप्सन फलो गर्न गर्न सक्नुहुन्छ । यसले फोटोको रेजोलुसन घटाइदिन्छ । तर, क्लाउडमा भएका फोटोमा भने उही रेजोलुसन रहिरहन्छ । आईफोन स्टोरेज अप्टिमाइज गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

  • सबैभन्दा पहिले सेटिङमा जानुहोस् । 

  • अनि सेटिङ मेनुलाई स्क्रोल गर्दै तल गएर फोटोजको अप्सनमा ट्याप गर्नुहोस् । 

  • र, अप्टिमाइज आइफोन स्टोरेज (Optimize iphone storage)को अप्सन छान्नुहोस् । 

फ्याक्ट्री रिसेट गर्नुहोस्

यदि माथिका तरिका अपनाएर पनि तपाईंको समस्या समाधान भएन भने तपाईंले फ्याक्ट्रि रिसेट गर्न सक्नुहुन्छ । फोनमा आएको समस्या के हो भन्ने एकिन गर्न सकिएन भने यस्तो तरिका अपनाउँदा उपयुक्त हुन्छ ।

तर, याद गर्नुहोस् फ्याक्ट्रि रिसेट गर्दा तपाईंको डिभाइसमा भएका सम्पूर्ण फाइलहरू हटाउँछन् । त्यसैले आवश्यक फाइलको ब्याकअप राख्नुहोस् । अनि तलको तरिका अपनाउनुहोस्: 

  • सेटिङमा गएर 'जेनेरल' अप्सन छान्नुहोस् । 

  • स्क्रोल गर्दै तल गइर ‘ट्रान्सफर अर रिसेट आईफोन’को अप्सनमा ट्याप गर्नुहोस् । 

  • अनि, रिसेटको अप्सनमा ट्याप गर्नुहोस् । 

  • र, इरेज अल कन्टेन्ट एन्ड सेटिङ (Erase All Content and Setting) को अप्सनमा ट्याप गर्नुहोस् । 

  • त्यसपछि 'कन्फर्म' अप्सनमा ट्याप गरेर आईफोन रिसेट गर्नुहोस् । 

यी बाहेक तपाईंले एप्पल सपोर्टमा सम्पर्क गरेर पनि यो समस्याको समाधान गर्न सक्नुहुन्छ । साथै बढी स्टोरेज आवश्यक छ भने तपाईंले शुल्क तिरेर आईक्लाउडको स्टोरेज बढाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८० १२:४८