ट्राफिक नियम उल्लङ्घन गरेको अवस्थामा नागरिक एपको लाइसेन्स मान्य हुँदैनः ट्राफिक प्रहरी
कात्तिक १३, २०८० १६:४४
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गरेको अवस्थामा नागरिक एपको लाइसेन्स मान्य नहुने बताएको छ ।
सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै कार्यालयले चालक लाइसेन्सप्राप्त हो वा होइन भन्ने कुराको जानकारीका लागि मात्र मान्य हुने र ट्राफिक नियम उल्लङ्घन र कारबाही प्रक्रियाको क्रममा भौतिक रूपमा सक्कलै सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने स्पष्ट पारेकाे छ ।
"हाललाई कुनै चालकले नागरिक एपमा लिङ्क रहेको सवारी चालक अनुमति पत्र देखाउँदा उक्त चालक लाइसेन्स प्राप्त गरेको व्यक्ति हो होइन भन्ने कुराको जानकारीका लागि मात्र मान्य हुनेछ," कार्यालयले आफ्नो आधिकारिक फेसबुक पोस्टमा लेखेको छ, "तर ट्राफिक नियम उल्लङ्घन र कारवाही प्रक्रियाको क्रममा भौतिक रूपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने व्यहोरा जानकारी गराइन्छ ।"
नागरिक एपले पनि सवारी चेकजाँचका क्रममा एपमा एपमा लिंक भएकाे लाइसेन्स देखाउँदा मान्य हुने जानकारी दिएको छ ।
नागरिक एपमा लाइसेन्स कसरी लिङ्क गर्ने ?
तपाईंले पक्कै पनि नागरिक एपमा आफ्नो सम्पूर्ण विवरण राखेर अकाउन्ट बनाइसक्नु भएको हुनसक्छ । यदि छैन भनेर नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गरेर एप डाउनलोड गर्नुहोस् ।
त्यसपछि त्यहाँ मागिए अनुसारको विवरण दिएर अकाउन्ट भेरिफाइ गर्नुहोस् । त्यसपछि तलका प्रक्रिया अपनाएर ड्राइभिङ लाइसेन्स लिङ्क गर्न सकिन्छ ।
-
सबैभन्दा पहिले नागरिक एपको होमपेजमा जानुहोस् ।
-
अनि, पपुलर सर्भिसेस (Popular Services) वा नेपालीमा ‘लोकप्रिय सेवाहरू’ लेखिएको अप्सनमा रहेको ‘सवारी चालक अनुमति पत्र’ को अप्सनमा ट्याप गर्नुहोस् ।
-
यति आफ्नो सवारी चालक अनुमति पत्र नम्बर राखेर ‘पेस गर्नुहोस्’ लेखिएको बटनमा ट्याप गर्नुहोस् ।
-
र, तपाईंले दिएको नम्बर म्याच भएको खण्डमा लाइसेन्स लिङ्क हुन्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८० १७:१
