close

स्मार्ट मिटर, एमटुएम र आईओटी प्रविधिका लागि सरकारले छुट्यायो निःशुल्क फ्रिक्वेन्सी

टेकपाना टेकपाना

कात्तिक १६, २०८० ८:४०

स्मार्ट मिटर, एमटुएम र आईओटी प्रविधिका लागि सरकारले छुट्यायो निःशुल्क फ्रिक्वेन्सी

काठमाडौं । सरकारले स्मार्ट मिटर रिडिङ, मसिन टु मसिन (एमटुएम) र इन्टरनेट अफ थिङ्स (आईओटी) प्रविधिका लागि आवश्यक फ्रिक्वेन्सी छुट्याएको छ । केही दिनअघि मात्र बसेको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठकले गैर-सेलुलर आईओटी सेवाका लागि निःशुल्क रूपमा प्रयोग गर्न सकिने गरी फ्रिक्वेन्सी छुट्याएको हो ।

छुट्टै अनुमति आवश्यक नपर्ने र निःशुल्क तथा साझा रूपमा प्रयोग गर्न सकिने फ्रिक्वेन्सी अन्तर्गत आईओटी, एमटुएम र स्मार्ट मिटरका लागि ८६५ मेगाहर्जदेखि ८६८ मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी रेञ्ज छुट्याइएको छ । यद्यपि उक्त रेञ्ज विस्तार गर्न सकिने बताइएको छ ।

हाललाई नन्-सेलुलर आईओटी सेवाका लागि उक्त ब्यान्ड छुट्याउने र त्यसलाई नन्-एक्सक्लुसिभ तथा नन्-प्रोटेक्टिभ शेयर्ड बेसिसमा प्रयोग गर्न सकिने व्यवस्था नीतिले गरेको छ । त्यसका लागि कुनै पनि दस्तुर नलाग्ने व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर रिडिङका लागि यो ब्यान्डको फ्रिक्वेन्सी माग गर्दै आएका छन् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८० ८:४०