close

आईसीटी अवार्डमा उत्कृष्ट ५ स्टार्टअप, राइजिङ स्टार इनोभेसन र प्रडक्टको घोषणा, अब पब्लिक भोटिङ हुने

टेकपाना टेकपाना

कात्तिक १६, २०८० १५:११

आईसीटी अवार्डमा उत्कृष्ट ५ स्टार्टअप, राइजिङ स्टार इनोभेसन र प्रडक्टको घोषणा, अब पब्लिक भोटिङ हुने

काठमाडौं । लिभिङ विथ आईसीटीको आयोजनामा वर्षेनि आयोजना हुँदै आएको आईसीटी अवार्ड कार्यक्रम अन्तर्गत यस वर्षको लागि विभिन्न तीन विधामा उत्कृष्ट पाँचकाे घाेषणा गरिएको छ । स्टार्टअप आईसीटी अवार्ड २०२३, प्रडक्ट आईसीटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२३ विधामा उत्कृष्ट पाँचको घोषणा गरिएको हो ।

यसअन्तर्गत उत्कृष्ट पाँचमा पर्ने स्टार्टअपहरूमा भोजमाण्डु फुड प्रालि, दियो एआई टेक्नोलोजी प्रालि, जीजी कर्पोरेसन प्रालि, रासन टेक्नोलोजिज प्रालि र यार्सा टेक प्रालि रहेका छन् ।

यसैगरी प्रडक्ट आईसीटी अवार्ड विधामा डिजी बज, फास्ट बैंकिङ, मनि मित्र, क्युकआरपिए र यात्री पी–१ छनोट भएका छन् ।

त्यस्तै राइजिङ स्टार इन्नोभेसन विधा अन्तर्गत उत्कृष्ट ५ मा ब्लाङ्सेर, ड्रेसन, द्रिश्य, इन्टर्नसाथी र प्रष्ट नेपाली छनोट भएका छन् । १४ जना जुरी सदस्यहरूले यी विधामा उत्कृष्ट पाँचको छनोट गरेको हो ।

आईसीटी अवार्ड २०२३ का यी विधाहरूमा २०० बढीको नोमिनेसन प्राप्त भएको आयोजकले जनाएको छ । उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टले गत असोज १९ र २० गते काठमाडौंमा आयोजना भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा सहभागी भएर प्रडक्ट र स्टार्टअप प्रदर्शनीमा राखेका थिए ।

यसैगरी उनीहरुले असोज २७ गते आयोजना भएको ग्राण्ड जुरी सेसन अन्तर्गत प्रिजेन्टेसन एण्ड स्पिड डेटिङमा पनि सहभागी भएर प्रस्तुति दिएका थिए । यी तीन विधामा छनौट भएका उत्कृष्ट पाँच केही समयपछि सञ्चालन हुने पब्लिक भोटिङमा सहभागी हुनेछन् भने स्टार्टअप लगायतका विधामा जुरी समितिले कार्यालय भिजिट पनि गर्नेछ ।

उत्कृष्ट पाँचमा पर्न असफल स्टार्टअप, प्रडक्ट र राइजिङ स्टारहरुले पनि पब्लिक च्वाइस आईसीटी अवार्ड २०२३ विधामा सहभागी हुन पाउनेछन ।  सर्वोत्कृष्टलाई पुस ६ गते आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रममा विशेष सम्मान गरिने अयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यसैगरी आईसीटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यक्तिगत र सस्थागत अवार्ड विधाहरुमा पनि छनौट प्रक्रिया जारी रहेको उनले सुनाए ।

उनका अनुसार प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसीटी अवार्डका विधाहरुमा दोस्रो चरणको छनौट प्रक्रिया सञ्चालनमा छ । त्यस्तै, डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा पहिलो चरणको छनौट प्रक्रिया सञ्चालन भइरहेको छ ।

साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड विधामा नोमिनेसन अवधि समाप्त भएर स्क्रिनिङ भइरहेको आयोजकले जानकारी दिएको छ । साउथ एसिया स्टार्टअप अवार्डमा विभिन्न ६ देशबाट ६० बढिको नोमिनेसन प्राप्त भएको लम्सालले बताए । यस विधामा सर्वोत्कृष्ट छनौटको लागि भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट जुरी सदस्यहरु रहेका छन् । 

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८० १५:११