close

थ्रेड्सका पोस्ट फेसबुक र इन्स्टाग्राममा आएर दिक्क हुनुहुन्छ ? मेटाले दिँदैछ समाधान

टेकपाना टेकपाना

कात्तिक १७, २०८० ११:७

थ्रेड्सका पोस्ट फेसबुक र इन्स्टाग्राममा आएर दिक्क हुनुहुन्छ ? मेटाले दिँदैछ समाधान

काठमाडौं । मेटाले थ्रेड्सका पोस्ट अनावश्यक रूपमा फेसबुक र इन्स्टाग्राममा नदेखिने बनाउन छिट्टै नयाँ प्राइभेसी अप्सन थप्ने भएको छ । रिभर्स इन्जिनियर एलेस्सान्ड्रो पलुजी एक्समा एक पोस्ट राख्दै मेटाले ल्याउन लागेको प्राइभेसी अप्सनका बारेमा जानकारी दिएका हुन् । पछिल्लो समय मेटाले थ्रेड्सका पोस्ट फेसबुक र इन्स्टाग्रामको फिडमा देखाउन थालेको छ ।

ती पोस्टमा लाइक वा रिप्लाई गर्न मिल्दैन । साथै फेसबुक वा इन्स्टाग्राममा देखिने थ्रेड्स पोस्ट हेर्नका लागि थ्रेड्सको वेब वा मोबाइल एपमै जानुपर्ने हुन्छ । मेटाले ल्याउन लागेको नयाँ प्राइभेसी सेटिङमार्फत भने थ्रेड्सका पोस्ट फेसबुकमा देखिने बनाउने वा नदेखिने बनाउने भन्ने छान्न सकिनेछ । यसका लागि थ्रेड्स एपबाट आफ्नो प्रोफाइलमा गई सजेस्टिङ पोस्टको अप्सनमार्फत फेसबुक र इन्स्टाग्राम अप्सन अफ गर्नुपर्ने हुन्छ ।

कम्पनीले अनावश्यक रूपमा थ्रेड्सका पोस्ट फेसबुक र इन्स्टाग्राममा प्रचार गर्न थालेको केही दिनमै यस्तो प्राइभेसीको अप्सन ल्याउन लागेको हो । यसो त अरू प्लेटफर्मको चर्चाका लागि मेटाले यस्तो रणनीति अपनाएको यो पहिलो पटक भने होइन । यसअघि पनि कम्पनीले इन्स्टाग्रामका रिल्स फेसबुकमा देखिने फिचर ल्याएको थियो ।

तर, थ्रेड्समा प्रयोगकर्ताको त्यति रुचि नभएपछि विभिन्न तरिकाले मेटाको उक्त रणनीतिको आलोचना हुन थाल्यो । त्यसैले कम्पनीले यस्तो फिचर ल्याउन लागेको हो । सबैभन्दा कम समयमा सक्रिय १० करोड प्रयोगकर्ताको आँकडा पार गर्न सफल भएको प्लेटफर्म थ्रेड्स पछिल्लो समय आफ्ना सक्रिय प्रयोगकर्ता पाउन संघर्ष गरिरहेको छ ।

सुरुवाती दिनमा थ्रेड्सलाई एलन मस्कको स्वामित्वमा रहेको एक्सको प्रतिद्वन्द्वीका रूपमा हेरिएको थियो । तर, एक्सभन्दा केही भिन्न हुन नसकेपछि उक्त प्लेटफर्म प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या दिनानुदिन घट्न थालेका छन् । थ्रेड्समा प्रयोगकर्ताको आकर्षण बढाउने उद्देश्यले नै मेटाका सीईओ मार्क जुकरबर्गले यस्तो रणनीति अपनाउन थालेका हुन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८० ११:१३