close

‘कल गर्ल चाहिए सम्पर्क गर्नू’ भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

टेकपाना टेकपाना

कात्तिक १७, २०८० १६:४६

‘कल गर्ल चाहिए सम्पर्क गर्नू’ भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

 

काठमाडौं । 'कल गर्ल' चाहिएमा सम्पर्क गर्नु भन्दै सामाजिक सञ्जालमार्फत रकम मागेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङका २४ वर्षीय गौरव जैन र भोजपुरका ३३ वर्षीय शैलेन्द्र श्रेष्ठले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार आरोपी युवाहरूले सबैभन्दा पहिले सामाजिक सञ्जालका विभिन्न माध्यम तथा ग्रुपमा 'कल गर्ल' चाहिएमा सम्पर्क गर्नु भन्दै ह्वाट्सएप नम्बर पठाउँथे । त्यसपछि सम्पर्कमा आएका व्यक्तिलाई विभिन्न महिलाको फोटो पठाउँथे ।

ह्वाट्सएप मेसेजमा सम्पर्क गर्न आएका युवाहरूलाई युवतीको फोटोसँगै मूल्यसूची पनि पठाउँथे । पीडितलाई मूल्यसूची पठाएपछि उनीहरूलाई एन्डभान्स स्वरूप ५० प्रतिशत रकम तिर्न भन्थे ।

एड्भान्स रकम तिरे अनलाइनमा 'केटी उपलब्ध' गराइदिने आश्वासन दिन्थे । रकम पाएपछि गायब हुन्थे । यसरी ठगी भएको भन्दै एक युवकले उजुरी दिएपछि अनुसन्धान अगाडि बढेको रेग्मीले सुनाए ।

"यसले पारिवारिक कलह निम्त्याउने, सम्बन्ध बिग्रिने, सामाजिक प्रतिष्ठामा आँच आउने भएकाले अधिकांश पीडितहरू उजुरी दिन आउँदैनन्," रेग्मीले भने, "उजुरी आएमा हामी अनुसन्धान गर्छौं ।"

पक्राउ परेका दुई जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । उनीहरूले प्रयोग गरेको फोनमा तलासी गर्दा इन्स्टाग्राममा 'Call girls Nepal', 'hi_strangers', 'Call.girls_nepal1001', 'callgirls_in_nepal', 'call.girls.nepal', 'call.girls_nepal' र 'call.girls._.nepal' युजरनेमका अकाउन्ट भेटिएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८० १६:४६