close

नेपाली बजारमा एथर ४५० एक्स इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य ३ लाख ८५ हजार ५०० रुपैयाँ

टेकपाना टेकपाना

कात्तिक २०, २०८० ९:५८

नेपाली बजारमा एथर ४५० एक्स इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य ३ लाख ८५ हजार ५०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा भारतीय विद्युतीय स्कुटर ब्रान्ड एथर भित्रिएको छ । वैद्य अर्गनाइजेसनले आइतबार २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा एथर ४५० एक्स मोडेल स्कुटर सार्वजनिक गरेकाे हाे ।

भारतभर एथरका १४०० भन्दा बढी फास्ट चार्जिङ स्टेसन रहेका छन्, जुन त्यहाँका लागि सबैभन्दा ठूलो सञ्जाल हो । एथरका स्कुटरमा प्रयोग गरिएका ब्याट्रीका लागि पाँच वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिइएको छ, यदि सो अवधिमा ब्याट्री हेल्थ ७० प्रतिशतभन्दा मुनि आएको खण्डमा नयाँ ब्याट्री उपलब्ध गराउने बताइएको छ ।

एथर स्कुटरमा गुगल म्याप, मल्टी-स्टप ट्रिप प्लानर, ब्लुटुथ कल तथा म्युजिक कन्ट्रोल, थेफ्ट एण्ड टो अलर्ट्स लगायतका फिचर रहेका छन् । दुर्घटना, टुटफुट, पन्चर अथवा चार्ज सकिएको समयमा समेत भारतमा एथरले सातै दिन चौबीसै घण्टाको इमर्जेन्सी सहायता दिने प्रतिवद्धता समेत जनाएको छ ।

३.७ किलोवाट आवर क्षमता भएको ब्याट्रीले १५० किमि र २.९ किलोवाट आवर क्षमताको ब्याट्रीले १११ किमि रेन्ज दिने कम्पनीको दाबी छ ।

यो विद्युतीय स्कुटरको अधिकतम गति ९० किलोमिटर प्रतिघण्डा रहेको छ । जसलाई शून्यबाट ४० किमि प्रतिघण्टाको बेग समात्न ३.३ सेकेन्ड लाग्ने बताइएको छ ।

वाटर रेसिस्टेन्ट र डस्ट प्रुफका लागि आईपी ६५ रेटिङ, सात इन्चको टीएफटी टचस्क्रिन, फोरजी कनेक्टिभिटी, ब्लुटुथ ४.२ समेत एथर स्कुटरमा पाउन सकिन्छ ।

यति मात्र होइन एथर स्कुटरका लागि छुट्टै मोबाइल एप समेत रहेको छ । जसमा टो एण्ड थेप्ट नोटिफिकेसन, फाइन्ड माई स्कुटर, फाइन्ड एथर ग्रिड नियर यु, रियल टाइम चार्ज स्टाटस, पुस नेभिगेसन, राइड इनसाइट, एथर ट्रिप प्लानर आदि फिचर समावेश छन् ।

स्कुटरमा पार्क असिस्ट, अटो होल्ड, २२ लिटरको बुट स्पेस, साइड स्ट्यान्ड सेन्सर, अटो इन्डिकेटर कटअफ, स्विच अफ गर्दा समेत २० सेकेन्डसम्म हेडलाइट बल्ने, डकुमेन्ट स्टोरेज अन ड्याशबोर्ड, पछाडि बस्ने यात्रुलाई खुटा राख्ने स्थान पनि यो स्कुटरमा पाउन सकिन्छ ।

नेपाली बजारमा बजारमा एथर ४५० एक्स स्कुटरको मूल्य २.९ किलोवाट आवर ब्याट्री मोडेलको तीन लाख ८५ हजार ५०० रुपैयाँ र ३.७ किलोवाट आवर ब्याट्री मोडेलको मूल्य चार लाख २० हजार  रुपैयाँ ताेकिएकाे छ ।

इमर्जेन्सी स्टप सिग्नल, लड्दा मोटरको पावर सप्लाई बन्द गर्ने फलसेफ, डुअल डिस्क ब्रेक आदि फिचर समेत रहेको एथर ४५० एक्स व्यक्तिगत अथवा फिक्स चार्जरले चार्ज गर्न सकिन्छ ।

३.७ किलोवाट आवर मोडेलको स्कुटर शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्न साढे चार घण्टा र २.९ किलोवाट भर्सनलाई छ घण्टा ३६ मिनेट लाग्ने बताइएको छ । स्कुटरमा तीन वर्ष अथवा ३० हजार किलोमिटर र  पोर्टेबल चार्जरमा तीन वर्षको वारेन्टी दिइएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८० ९:५९