close

धनगढीमा अब मोबाइल एपबाटै दमकल बोलाउन सकिने

टेकपाना टेकपाना

कात्तिक २२, २०८० १३:३५

धनगढीमा अब मोबाइल एपबाटै दमकल बोलाउन सकिने

काठमाडौं । धनगढी उपमहानगरपालिकाले मोबाइल एपबाटै दमकल बोलाउन सकिने सेवा सुरु गरेको छ । मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ राख्दै मेयर गोपाल हमालले मोबाइल एपबाटै दमकल बोलाउन सकिने सेवा सुरु भएको जानकारी दिएका हुन् ।

हमालका अनुसार आगलागी भएको समयमा सो स्थानको जाने बाटो गुगल म्याप्सबाट देखाउने गरी विपदमा छिटो सेवा प्रवाह गर्न मोबाइलबाटै सम्पूर्ण जानकारी दिने सेवा सुरु भएको छ । उप-महानगरपालिकाले प्रयोग गर्दै आएको लुना जीपीएस एपमार्फत यस्तो सेवा सञ्चालनमा ल्याइएकाे हो ।

सेवाग्राहीले आगलागी भएको जानकारी दिनासाथ उपमहानगरको विपद शाखामा (विपद, दमकल, नगर प्रहरी) मा कसले, कुन ठाउँबाट र कुन नम्बर प्रयोग गरी दमकल बोलाएको छ भन्ने कुराको जानकारी पुग्छ । 

“आगलागी भएको बेला पूरा विवरण एकै पटक पठाउन मिल्ने र छिटो सेवा लिन सकिने नेपालमै नेपाली वैज्ञानिकले तयार पारेको प्रविधि हो,” हमालले फेसबुक पेजमा लेखेका छन्, “यो नेपालमै पहिलो पटक धनगढी उप-महानगरपालिकाद्वारा सुरु गरिएको सेवा हो ।”

नगरबासीले लुना जीपीएस नामक एप प्रयोग गरी यो सेवा उपयोग गर्नसक्ने उनले उल्लेख गरे । मेयर हमालले सो एप इन्स्टल गर्न सकिने गुगल ड्राइभ लिङ्क उपलब्ध गराएका छन् ।

यहाँ क्लिक गरी एपको एपीके फाइल डाउनलोड गरेर इन्स्टल गर्नुपर्ने हुन्छ । त्यसपछि नागरिकताकाे फाेटाे अपलाेड गरी अकाउन्ट बनाएर एप प्रयोग गर्न सकिन्छ । आगलागी नभएको बेला सो एपमा रहेको उक्त फिचर प्रयोग नगरिदिन मेयर हमालले अनुरोध गरेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८० १३:४१