close

एआईले तयार पारेको आफ्नै आवाजको गीत सुनेपछि ओली भन्छन्, ‘मलाई अचम्म लाग्यो !’

टेकपाना टेकपाना

कात्तिक २५, २०८० ११:५४

एआईले तयार पारेको आफ्नै आवाजको गीत सुनेपछि ओली भन्छन्, ‘मलाई अचम्म लाग्यो !’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी आफ्नै आवाजमा तयार पारिएको गीत सुनेपछि अचम्म लागेको बताएका छन् । शनिवार फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

ओलीले फेसबुकमा एउटा भिडिओ शेयर गरेका छन् । भिडिओमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको ‘सालको पातको टपरी...’ बोलको गीतको शब्द कुनै कार्यक्रममा उनले सुनाइरहेका हुन्छन् ।

केही बेरमा तिनै शब्दहरू सहित ओलीको स्वरमा गीत गुन्जिन्छ । त्यही भिडिओ शेयर गर्दै उनले आफूलाई अचम्म लागेको प्रतिक्रिया दिएका हुन् ।

“टिकटक हेर्दै जाँदा आफ्नै आवाजको जस्तो गीत सुनियो । आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी यसरी आफ्नो स्वरमा गीत बनाउने प्रविधि पनि आइसक्यो,” उनले फेसबुक पाेस्टमा लेखेका छन् ।

त्यस्तै सोही स्टाटसमा उनले प्रविधिको दुरुपयोगबारे लेख्दै आफू चिन्तित भएको पनि जनाएका छन् । “प्रविधिको विकास हुनु राम्रो हो । तर आफूले बोल्दै नबोलेका कुराहरू पनि यसरी आइरहेका छन् कि जस्तो पो लाग्दैछ,” उनी अगाडि लेख्छन्, “प्रविधिले सजिलो मात्र होइन, दुरुपयोगको चुनौती पनि थप्छ ।”

सामान्यत: उनको जस्तै आवाज नक्कल गरेर गीत गाएको बनाउन वा कुनै वक्तव्य दिएको बनाउन डिपफेक प्रविधि प्रयोग गरिन्छ । ओलीले शेयर गरेको भिडिओमा पनि 'एआई आर्टिस्ट नेपाल'को लोगो देख्न सकिन्छ ।

मसिन लर्निङ तथा एआईको संयोजनले विकास गरेको डिपफेक प्रविधिबाट पछिल्लो समय सेलिब्रेटीहरूको आवाज, फोटो तथा भिडिओलाई लिएर विभिन्न सामग्री बढाउने क्रम बढेको छ ।

पहिले विशेष दक्षता हासिल गरेकाले मात्र बनाउन सक्ने यस्तो भिडिओ आजभोलि वेबसाइट र एप चलाउन जानेकाले केही क्लिकमा नै बनाउन सक्छन् । यस प्रविधिले कसरी काम गर्छ भनेर पढ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८० १२:५