काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले हाम्रो कम्प्युटर प्रयोग गर्ने तरिका पूर्ण रूपमा परिवर्तन गर्न लागेको माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बताएका छन् । एक ब्लगपोस्टमा गेट्सले भविष्यलाई लिएर आफ्ना केही पूर्वानुमानहरू शेयर गरेका छन् ।
अहिले एआई झन् भन्दा झन् धेरै प्रचलित हुँदै गइरहेको छ । गेट्सका अनुसार अबको पाँच वर्षमा हामीले विभिन्न कामका लागि छुट्टाछुट्टै एपहरू प्रयोग गरिरहेका हुने छैनौं । बरु त्यसको साटो दैनिक बोलिचालिको भाषामा तपाईंले कम्प्युटर अथवा फोनलाई सामान्य तरिकामा आफूले चाहेको काम अह्राउन सक्नु हुनेछ र त्यसले तपाईंको अनुरोध अनुसार आवश्यक काम सम्हाल्नेछ ।
"अबको निकट भविष्यमा अनलाइनमा हुने जोकोहीसँग आर्टिफिसियल इन्टेलिजेन्सबाट सञ्चालित व्यक्तिगत सहयोगी हुनेछ, जुन आजको प्रविधिभन्दा निकै परको कुरा हो," गेट्स भन्छन् ।
आफूमा रहेको ज्ञानका आधारमा तपाईंको काम सम्पन्न गर्नसक्ने सफ्टवेयरलाई व्यक्तिगत "एजेन्ट"को संज्ञा दिएका छन् ।
"एजेन्टहरूले केवल हरेकले कम्प्युटरसँग गर्ने अन्तरक्रियाको तरिकालाई मात्रै फेर्ने छैन । आइकनमा थिचेर कमाण्ड टाइप गर्ने ठाउँबाट कम्प्युटरमा निकै ठूलो क्रान्ति ल्याउँदै तिनले सफ्टवेयर उद्योगलाई नै उकास्नेछन्," गेट्सले भनेका छन् ।
एजेन्टहरूलाई काम गर्नका लागि उनीहरूले एउटा व्यक्तिको तवरमा तपाईंलाई जान्न सक्नु मुख्य कुरा हो । तपाईंबारे तिनले जति धेरै थाहा पाउँछन्, उनीहरूले त्यति नै धेरै तपाईंको आवश्यकता अनुमान गरेर तपाईंलाई सघाउन सक्छन् ।
"तपाईंले सोध्नु अघि नै तिनीहरू सुझाव दिन अग्रसर हुनेछन् । तिनले विभिन्न एप्लिकेसनमा गएर काम सम्पन्न गर्नेछन्," गेट्स अगाडि भन्छन्, "समयसँगै तिनिहरूमा सुधार हुँदै जानेछ किन कि तिनले तपाईंका गतिविधि सम्झिनुका साथै तपाईंको मनसाय र व्यवहारको ढाँचा पहिचान गर्न सक्नेछन् । यस्ता सूचनाको आधारमा तिनले तपाईंको आवश्यकता पहिचान गरी सुझाव दिनेछन्, यद्यपि अन्तिम निर्णय भने सधैं तपाईंकै हुनेछ ।"
गेट्सले आफ्नो ब्लग पोस्टमा एआईले स्वास्थ्य, शिक्षा, उत्पादकत्व, मनोरञ्जन लगायतका उद्योगलाई कसरी रूपान्तरण गर्दैछ भन्ने विषयमा समेत आफ्नो धारणा विस्तृत रूपमा खुलाएका छन् । अन्ततः हाम्रो दैनिक जीवनका हरेक पाटोमा एआई महत्त्वपूर्ण हिस्साको रूपमा रहने उनले देखेका छन् ।
"एजेन्टहरू जीवनका कुनै पनि गतिविधि र क्षेत्रमा भर्चुअल किसिमले सहयोग गर्न तयार हुनेछन्," गेट्स भन्छन्, "कम्प्युटिङ उद्योगमा हामी प्लेटफर्महरूको कुरा गर्छौं- जो एप तथा सेवाहरू बनाउने प्रविधिहरू हुन् । एन्ड्रोइड, आईओएस, विन्डोज सबै प्लेटफर्म हुन् । एजेन्ट त्यस्तै अर्को प्लेटफर्म हुनेछ ।"