close

आजदैखि टिकटक बन्द हुने, आईएसपी र टेलिकम अपरेटरलाई प्राधिकरणले पठायो पत्र

टेकपाना टेकपाना

कात्तिक २७, २०८० १८:३३

आजदैखि टिकटक बन्द हुने, आईएसपी र टेलिकम अपरेटरलाई प्राधिकरणले पठायो पत्र

काठमाडौं । नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय आजैदेखि कार्यान्वयन हुने भएको छ । टिकटक बन्द गर्न सबै इन्टरनेट सेवाप्रदायक (आईएसपी) र टेलिकम अपरेटरलाई टिकटक पत्राचार गरिसकिएकाे नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले जनाएकाे छ । 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार सरकारको निर्णय कार्यान्वयन गराउन कतिपय आईएसपी तयारी अवस्थामा रहेको र केही साना आईएसपीमा काम भइरहेको छ ।

“हामीले आजै आईएसपी तथा टेलिकम अपरेटरहरूलाई पत्र पठाएर टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन गराउन तयारी गरिरहेका छौं । एनसेल र नेपाल टेलिकमसँग पनि कुरा भइरहेको छ,” उनले टेकपानासँग भने, “कतिपय आईएसपी तयारी अवस्थामा छन् । साना आईएसपीमा भने जनशक्ति लगायतका कारण अलि ढिलो हुन सक्छ । नत्र आजै साँझसम्म ८०-९० प्रतिशत आईएसपीहरूबाट टिकटक बन्द गर्ने र भाेलिसम्ममा पूर्ण रूपमा बन्द गर्ने काम हुन्छ ।”

आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।

सन् २०१६ मा पहिलो पटकमा सार्वजनिक भएको टिकटकका नेपालमा लाखौं सक्रिय प्रयोगकर्ता छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८० १८:४४