close

च्याटजीपीटी ५ ल्याउँदै ओपन एआई,  'सुपर इन्टेलिजेन्स' हुने दाबी

टेकपाना टेकपाना

कात्तिक २९, २०८० १३:२०

च्याटजीपीटी ५ ल्याउँदै ओपन एआई,  'सुपर इन्टेलिजेन्स' हुने दाबी

काठमाडौं । च्याटजीपीटी ३ र च्याटजीपीटी ४ को अपार सफलतापछि ओपन एआईले च्याटजीपीटी ५ बनाउन थालेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले फाइनान्सियल टाइम्ससँगको एक अन्तरर्वार्तामा यो कुराको खुलासा गरेका हुन् । 

अन्तर्वातामा सीईओ अल्टम्यानले अर्को पुस्ताको एआई मोडेल जीपीटी ५ 'सुपर इन्टेलिजेन्स' हुने दाबी समेत गरेका छन् । यसका लागि सँगै काम गर्दै आएको माइक्रोसफ्टबाट लगानीको आवश्यकता पर्ने र त्यसको आशामा रहेको उनले जनाएका छन् । 

सामान्यतया च्याट जीपीटी जस्तो शक्तिशाली एआई मोडेल बनाउन अर्बौं डलर, कयौं कम्प्युटरसँग सम्बन्धित सामग्री, तालिम दिन ठूलो परिमाणको डेटा र ती मोडेलको परीक्षण गर्न सुरक्षित वातावरणको आवश्यकता पर्छ । हाल ती कुरा ओपनएआईले माइक्रोसफ्टबाट पाइरहेको बताइन्छ । 

हालसम्म माइक्रोसफ्टले ओपन एआईमा १० अर्ब डलर भन्दा बढी लगानी गरिसकेको छ । बहु वर्षीय सहकार्यको सम्झौता रहेको यी दुई कम्पनीबीच अझ धेरै काम हुन बाँकी रहेको सीईओ आल्टम्यानले जनाएका छन् । 

पछिल्लो समय माइक्रोसफ्टले पनि सम्पूर्ण व्यापार एआई केन्द्रित बनाउन थालेको छ । त्यसको उदाहरण विन्डोज, माइक्रोसफ्ट ३६५ लगायतका उत्पादनमा देख्‍न सकिन्छ । यस अगाडि बनाइएको जीपीटी ४ को क्षमता एउटा मानिसको ज्ञान तथा बुझाइसँग नजिक रहेको बताइएको थियो । 

विकासको सोही क्रमलाई हेर्दा अब आउने नयाँ पुस्ताको एआई मोडेल (जीपीटी ५) ज्ञानको सन्दर्भमा मानिस बराबर हुने मात्र नभई तर्क तथा गम्भीर विचारहरूमा समेत सोच्‍न सक्ने क्षमतामा बराबार हुने बताइन्छ । 

एआईको यो रूपलाई आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) भन्ने गरिन्छ । यस्ता एआई मोडेलले आफ्नै नयाँ विचार बनाउन सक्छन् । जसले मानवतालाई नै खतरा पार्न सक्ने भनेर गरिएका विभिन्न बहसहरू सतहमा समेत आउन थालेका छन् । 

यद्यपि जीपीटी ५ बनाउन पहिलेको तुलनामा अझ धेरै डेटा तथा प्रशोधन क्षमताको खाँचो पर्छ । यसका लागि अनलाइनमा उपलब्ध सार्वजनिक तथा विभिन्न कम्पनीहरूबाट खरिद गरिने डेटाबाट पूर्ति गर्ने सीईओ आल्टम्यानले फाइनान्सियल टाइम्सलाई बताएका छन् । 

तर जीपीटी ५ को निर्माण कार्य कहिले सकिन्छ, कहिलेदेखि सार्वजनिक रूपमा उपलब्ध हुन्छ, यसका क्षमता के के हुन्छन् भन्ने जिज्ञासा तथा प्रश्नको उत्तर भने उनले केही पनि खुलाएका छैनन् । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८० १३:२०