काठमाडौं । चिनियाँ मोबाइल निर्माता साओमीले आफ्नो पहिलो विद्युतीय कार बजारमा चाँडै ल्याउने भएको छ । हालै बाहिरिएको जानकारी अनुसार कम्पनीले चीनमा एसयू सेभेन (SU7) कार सिरिजका लागि बिक्री इजाजतपत्रको आवेदन दिएको छ । खबरअनुसार साओमीले एसयू सेभेन र एसयू सेभेन म्याक्स बजारमा ल्याउने छ ।
यी दुवै कार बेइजिङमा रहेको अटोमोबाइल कम्पनी बीएआईसी ग्रुपले तयार पार्ने बताइएको छ । एन्ड्रोइड अथोरिटीले यी कारको डिजाइन तथा फिचरबारे केही खुलाएको छ ।
साओमीको यी बिजुली कारहरू समान भएपनि ब्याट्रीप्याक, रेञ्ज आदिमा फरक रहेको जनाइएको छ । एसयू सेभेनको कूल तौल १९८० केजी र एसयू सेभेन २२०४ केजी रहने बताइएको छ ।
त्यस्तै एसयू सेभेनको रियर ह्विल ड्राइभ (आरडब्लूडी) भेरियन्टमा २२० किलोवाटको मोटर र अल ह्विल ड्राइभ (एडब्लूडी) २७५ किलोवाट प्लस २२० किलाेवाटको मोटर सट हुने बताइएको छ । तर मूल्य लगायत थप विशेषता खुलाइएको छैन ।
त्यस्तै साओमीले एसयू सेभेन प्रो भेरियन्ट पनि ल्याउनसक्ने आँकलन गरिएको छ । तर यसबारे कम्पनीले केही खुलाएको छैन ।
साओमीका यी कार परियोजनाहरू मानिस, कार र घर एउटै प्रणालीबाट चलाउने सिद्धान्तअनुसार आउन लागेको बताइएको छ । अर्थात् यी कारहरू हाइपर ओएसमा आधारित हुनेछन् । तर नियामक निकायले यसको पुष्टि गरिसकेको छैन । साथै हाइपर ओएस एकीकृत ब्रान्डिङ भएकाले साओमी फोनमा भएको अपरेटिङ सिस्टमले नै कार पनि चल्छ भन्ने कुरा पनि अहिले निश्चित छैन ।