काठमाडौं । शुक्रबार बर्खास्तीमा परेका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानलाई फिर्ता ल्याउन ओपनएआईले तयारी थालेको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार ओपनएआईको बोर्डले यस विषयमा अल्टम्यानसँग छलफल सुरु गरेको हो ।
अल्टम्यानसँग नजिक रहेको स्रोतलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स, वालस्ट्रिट लगायतका सञ्चारमाध्यमले बर्खास्तीबारे पुनर्विचार गरेर अल्टम्यानलाई फर्कन ओपनएआईको बोर्डले आग्रह गरेको र यस विषयमा उनले सोचिरहेको उल्लेख गरेका छन् ।
त्यस्तै पुन: कम्पनीमा फर्कनेबारे अल्टम्यान दोधारको अवस्थामा रहेको र फर्किहाले बोर्डमा नयाँ सदस्यहरू राख्नेबारे उनले लगानीकर्ताहरूसँग छलफल गरिरहेको बताइएको छ ।
यसरी आफ्नै निर्णयबाट ओपनएआईको बोर्ड पछि हट्नुमा अल्टम्यानको बर्खास्तीपछि वरिष्ठ अनुसन्धानकर्ता तथा अन्य कर्मचारीहरूले लगातार राजीनामा दिनु हाे । उनलाई बर्खास्त गरेको केही घण्टापछि ओपनएआईका अध्यक्ष र पूर्व बोर्ड अध्यक्ष ग्रेग ब्रोकम्यानले समेत राजीनामा दिएका थिए ।
तर अल्टम्यान ओपनएआईमा फर्कने वा नफर्कने अनिश्चित छ । हाल ब्रोकम्यानसँग मिलेर अल्टम्यानले अर्को कम्पनी सुरु गर्न लगानीकर्ताहरूसँग कुरा गरिरहेको समेत जनाइएको छ । यदि उनी फर्केनन् भने नयाँ कम्पनी सुरु गर्ने र हाल ओपनआईमा कार्यरत अधिकांश कर्मचारीहरू उनीसँगै जाने लख काटिएकाे छ ।
यता ओपनएआईको सबैभन्दा ठूलो लगानीकर्ताको रुपमा रहेको माइक्रोसफ्टले भने जुनसुकै व्यक्ति सीईओको रूपमा आएपनि कम्पनीसँगको साझेदारीमा प्रतिबद्ध रहेको बताएको छ । तर यस क्षेत्रका व्यक्तिहरूले भने अल्टम्यानलाई सीईओ पदबाट हटाउने कार्यले ओपनएआईको भविष्य गोलमोल हुने प्रतिक्रिया दिइरहेका छन् ।
हाल ओपनएआईको बोर्डमा कम्पनीको सह-संस्थापक तथा मुख्य अनुसन्धानकर्मी इल्या सुत्स्केभर, क्वेराका सीईओ एडम डी एन्जेलो, जियो सिम सिस्टम्सका पूर्व सीईओ ताशा म्याकाउली र सेन्टर फर सेक्युरिटी एन्ड इमर्जिङ टेक्नोलोजीका निर्देशक हेलेन टोनर रहेका छन् । तर उनीहरूमध्ये कसैले पनि ओपनएआईको शेयर राखेका छैनन् ।
ओपनएआईको बोर्डको मुख्य उद्देश्य आर्टिफिसियल इन्टेलिजेन्स नलेज (एजीआई) को निर्माण सुनिश्चित गर्नु रहेको छ । तर अधिकांश सञ्चारमाध्यमले बोर्ड सदस्य इल्या सुत्स्केभरले सीईओ पदबाट अल्टम्यानलाई हटाउन प्रमुख भूमिका खेलेको बताएका छन् । त्यस्तै हालैको घटनाक्रमले कम्पनीमा अनुसन्धान र उत्पादन पक्षहरूबीच शक्ति संघर्ष रहेको देखाएको विश्लेषण गरिएको छ ।