close

अनलाइनमा आउने नक्कली विज्ञापनबाट कसरी जोगिने ?

टेकपाना टेकपाना

मंसिर ३, २०८० १३:३०

अनलाइनमा आउने नक्कली विज्ञापनबाट कसरी जोगिने ?

काठमाडौं । इन्टरनेटमा सजिलै आफूलाई चाहेको विषय ब्राउज गर्न सकिन्छ । उत्तर पनि सजिलै पाउन सकिन्छ । त्यसक्रममा आउने अर्को पक्ष हाे, विज्ञापन ।

तपाईंले ब्राउजिङ गरेको कुराका आधारमा प्राय: अनलाइन विज्ञापन देखिन्छ । तीमध्ये कतिपय नक्कली हुन सक्छन् । अर्थात् प्रयोगकर्ता ठग्ने उद्देश्यले त्यस्ता विज्ञापन तयार पारिन्छ । जसरी शङ्कास्पद लिङ्कहरू क्लिक गर्नबाट बच्न सकिन्छ, त्यसैगरी नक्कली विज्ञापन पत्ता लगाउन र तिनको शिकार हुनबाट जोगिन सकिन्छ ।

सर्च इन्जिन, ह्वाट्सएप, एसएमएस, ईमेल लगायतका विभिन्न डिजिटल प्लेटफर्ममा त्यस्ता नक्कली विज्ञापन आउँछन् । नक्कली विज्ञापनको भित्री उद्देश्य प्रयोगकर्ताबाट पैसा वा डेटा लुट्नु हाे । विज्ञापन प्राय: निश्चित समूहलाई लक्षित गरेर तयार गरिन्छ । प्रसारण तथा प्रकाशन गरिन्छ । तर नक्कली विज्ञापनमा हुने सामग्री भने अहिले ट्रेन्डिङमा आएका विषयसँग सम्बन्धित हुन्छन् ।

प्राय: नक्कली विज्ञापन अनलाइन शपिङसँग सम्बन्धित हुने गर्छ । महँगा सामान सस्तो मूल्यमा दिने भनेर भारी छुटको प्रचार गरिएको हुन्छ । त्यसो हुँदा कुनै पनि वस्तु वा सेवा ग्राहकले खरिद गर्न चाहेका विज्ञापनदाताको छद्म भेषमा रहेका स्क्यामरले अग्रिम भुक्तानीका लागि रकम माग्ने गर्छन् ।

कतिपयले भने ग्राहकको विश्वास जित्न सामान डेलिभरी पनि गर्छन् । तर अग्रिम भुक्तानी गरेपछि प्राय: स्क्यामरहरूले ग्राहकको नम्बर ब्लक गर्ने गर्छन् । अथवा विभिन्न बहाना बनाएर कुरा गर्न आनाकानी गर्छन् । तर तपाईंले निम्न तरिका अपनाएर त्यस्ता अनलाइनमा आउने नक्कली विज्ञापन पत्ता लगाउन सक्नुहुन्छ:

१. डोमेन नाम हेर्नुहोस् 

प्राय: स्क्यामरहरूले चर्चित वेबसाइटको नामसँग मिल्दो नाम राखेर डोमेन बनाउने गर्छन् । झट्ट त्यो नाम पढ्दा उस्तै लागेपनि अक्षर नक्कली हुन्छन् । जस्तै: 'daraz' को हिज्जे बिगारेर स्क्यामरले 'daraj' बनाउन सक्छन् । 

२. प्रतिक्रिया (रिभ्यु) हेर्नुहोस्

यदि अनलाइनमा देखा परेका त्यस्ता विज्ञापन शङ्का लागे प्रतिक्रिया (रिभ्यु) हेर्नु उपयुक्त हुन्छ । किनकी कतिपय पीडितले कमेन्ट बक्समा आफूलाई मर्का परेको बारे लेखिरहेका हुन्छन् । तर यसो गर्दा तपाईंले सम्झनुपर्नेे एउटा कुरा कतिपय त्यस्ता विज्ञापनमा स्क्यामरहरू आफैंले तारिफ गरेर प्रतिक्रिया दिइरहेका हुन्छन् ।  

३. ग्राफिक्स हेर्नुहोस्

ग्राफिक्स पनि यस प्रकारका कतिपय नक्कली विज्ञापनको सूचक हुन सक्छन् । अपत्यारिला सूचना हुनुका साथै गुणस्तरहीन खालका ग्राफिक्स नक्कली विज्ञापनको मापक हुन् । यदि तपाईंलाई विज्ञापनमा भएका ग्राफिक्समा शङ्का लाग्छ भने सचेत हुनुपर्छ । 

४. केही अध्ययन गर्नुहोस्

कुनै पनि विज्ञापनमाथि आँखा चिम्लेर विश्वास गर्नुअघि तपाईंले उक्त कम्पनी वा प्लेटफर्मको बारेमा केही अध्ययन गर्नु पनि एउटा राम्रो विकल्प हो । त्यसो गर्दा तपाईंले कम्पनी तथा कम्पनीको वेबसाइटबारे थाहा पाउन सक्नुहुन्छ । यसका लागि निम्न टुुल निम्न उपयोगी हुन सक्छन्:

-हु इज (Who Is) 

यस वेबसाइटले डोमेनबारे विभिन्न डेटा दिन्छ । जसमा रजिष्ट्ररमा इन्फर्मेसन, रजिष्ट्रेसन डेट, एक्सपाइरेसन डेट, अपडेसन डेटा, डोमेन पछाडि भएका व्यक्ति आदि विवरण रहेका छन् । त्यस्तै यो टुलले उस्तै नाम भएका अन्य डोमेन पनि देखाउँछ । साथै डीएनएस (डोमेन नेम सिस्टम) को रेकर्ड समेत यसले देखाउने गर्छ । ​यसमा जान यहाँ क्लिक गर्नुहोस् ।

-आईएसआईटी फिशिङ (ISIT Phishing) 

यस टुलले दिइएको वेबसाइट फिशिङ साइट हो/होइन परीक्षण गर्ने काम गर्छ । यसबाट त्यस्ता नक्कली विज्ञापन साइट फिशिङ आक्रमण गर्ने उद्देश्यले बनाइएको त होइन भन्ने कुरा थाहा पाउन सकिन्छ ।

यसबाट प्रयोगकर्ताले सामान्य तरिकाले वेबसाइटको लेजिटिमेसी (एड्रेस बार र यूआरएलको अध्ययन) बारे थाहा पाउन सक्छन् । ​यस टुलमा जान यहाँ क्लिक गर्नुहोस् ।

-गुगल सोसल सर्च (Social Searcher)

यस वेबसाइटले सोसल मिडिया कन्टेन्ट खोज्न सहयोग गर्छ । यसबाट प्रयोगकर्ताले सार्वजनिक रुपमा उपलब्ध सोसल मिडिया अपडेट, आर्टिकल तथा ब्लगबारे थाहा पाउन सक्छन् । कुनै पनि वेबसाइट वा सोसल मिडिया अकाउन्टबारे अनुसन्धान गर्न यो टुल उपयोगी हुन्छ । ​यो टुल चलाउन यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८० १३:५७