क्रिकेटमा भारतको पराजयसँगै सञ्चारकर्मीले एक्समा पोस्ट गरेको भिडिओ क्लिप विवादमा
मंसिर ४, २०८० १५:२७
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपमा कार्यरत सञ्चारकर्मीले एक्समा पोस्ट गरेको एक भिडिओ क्लिप यतिखेर विवादमा परेको छ । आइतबार क्रिकेट विश्वकपमा भारत अस्ट्रेलियासँग पराजित भएको क्षणमा न्युजरुम भित्र रमाउँदै लिएको जस्तो देखिने भिडिओ क्लिप एकाएक विवादमा आएको हो ।
सञ्चारकर्मी श्रद्धा अर्यालले उक्त भिडिओ सहित एक्समा पोस्ट गरेकी थिइन् । सोही भिडिओको पृष्ठभूमिमा एक व्यक्तिले छिमेकी देश भारतका नागरिक तथा त्यहाँको सम्प्रदायलाई लक्षित गर्दै हेय मिश्रित आवाज सुन्न सकिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूलाई देशकै अग्रणी सञ्चार गृह दाबी गर्ने संस्थाको मुख्यालयबाट यस्तो साम्प्रदायिक र संवेदनशील अभिव्यक्ति स्वीकार्य नहुने उल्लेख गरेका छन् ।
खेल हो, सबैले आफ्नो मन परेको टोलीको समर्थन गर्ने र नगर्ने व्यक्तिगत स्वतन्त्रता हुन्छ। तर आफूलाई "देशकै अग्रणी सञ्चार गृह हौ" भन्ने दाबी गर्ने संस्थाको मुख्यालयबाट यस्तो "साम्प्रदायिक र संवेदनशील अभिव्यक्ति" स्वीकार्य हुँदैन। प्रकाशक/सम्पादकले सार्वजनिक रूपमा माफी नमागेसम्म यो… pic.twitter.com/yMifkIKCzb
— Manish Jha (@manishjhanepal) November 20, 2023
एक्समा उक्त भिडिओ क्लिप समेत राख्दै उनले लेखेका छन्, "प्रकाशक तथा सम्पादकले सार्वजनिक रूपमा माफी नमागेसम्म यो कार्यको पूर्ण रूपमा विरोध हुनेछ ।" झासँगै अन्य कतिपय व्यक्तिले उक्त क्लिपमा सुनिएको आवाजलाई लिएर आलोचना गरेका छन् ।
आफ्नो भिडिओ क्लिप विवादमा परेपछि अर्यालले सोमवार दिउँसो स्पष्टीकरण नै दिएकी छिन् । "भारत र अस्ट्रेलियाबीच विश्वकप क्रिकेटको फाइनल नतिजाको दृश्य समेटिएको मेरो व्यक्तिगत पोस्ट प्रति व्यक्त चासो र टिप्पणीप्रति गम्भीर छु," उनले एक्समा पोस्ट गर्दै भनेकी छिन्, "मेरो आशय कसैको भावनामाथि चोट पुर्याउने नरहेको स्पष्ट पार्न चाहन्छु ।"
१. भारत र अस्ट्रेलियाबीच विश्वकप क्रिकेटको फाइनल नजिताको दृश्य समेटिएको मेरो व्यक्तिगत पोस्टप्रति व्यक्त चासो र टिप्पणीप्रति गम्भीर छु । मेरो आशय कसैको भावनामाथि चोट पुर्याउने नरहेको प्रष्ट पार्न चाहन्छु… pic.twitter.com/2uch4PQJEp
— Shraddha aryal (@ShraddhaAryal) November 20, 2023
अर्यालले साथीहरू मात्र बसेर हेरेको खेलको क्रममा सुनिने असान्दर्भिक आवाजप्रति दुःख व्यक्त गर्दै क्षमा समेत मागेकी छिन् । "मेरो पोस्टलाई व्यक्तिगत रूपमा लिन र म संलग्न संस्थालाई नजोडिदिनु हुन आग्रह गर्दछु," उनले भनेकी छिन् ।
पछिल्लो अध्यावधिक: मंसिर ४, २०८० १५:२७
