close

नाम मिलेपछि कमेडियन हिमेश पन्तलाई फेसबुकमा गालीको ओइरो

टेकपाना टेकपाना

मंसिर ६, २०८० १५:४०

नाम मिलेपछि कमेडियन हिमेश पन्तलाई फेसबुकमा गालीको ओइरो

काठमाडौं । एक घरेलु हिंसाको घटनामा नाम मिलेपछि कमेडियन एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिमेश पन्तलाई सामाजिक सञ्जालमा गालीकाे ओइरो लागेको छ । नाम मिलेको भरमा दर्जनाैं गालीका मेसेज आएपछि उनले उक्त व्यक्ति आफू नभएको प्रष्ट पारेका छन् । 

“हिमेश नाम गरेको एक जना पत्रकारले श्रीमती कुटेको भन्ने भिडिओ क्लिप बाहिरिएको रहेछ,” उनले लेखेका छन्, “हिजोदेखि मेरो इनबक्समा गालीका मेसेजहरू आइरहेका छन् ।”

उनले स्टाटसमार्फत आफू अविवाहित रहेको र कुनै पनि घरेलु हिंसालाई समर्थन नगर्ने उल्लेख गरेका छन् । उनले आफूलाई इनबक्समा आएका गालीको स्क्रिनशट समेत फेसबुक स्टोरीमा शेयर गरेका छन् ।

यस विषयमा टेकपानासँग कुरा गर्दै पन्तले केही मानिसहरूमा धैर्यता गर्ने क्षमताकाे कमी हुँदा यस्ताे प्रतिक्रिया आएको उल्लेख गरे । “केही मान्छे बुझ्दै नबुझिकन एकदमै हतार गरेर रेस्पोन्स गर्नुहुन्छ । त्यसको असर अरूलाई पर्नसक्छ । ख्याल गर्नुपर्छ ।”

“सामाजिक सञ्जालमा जे कुरा आयो त्यसलाई विश्वास गरिहाल्ने प्रवृत्ति बढेको छ,” उनले अगाडि भने, “समाचार सबै पढ्दै नपढी टाइटल वा छाेटाे क्लिप हेरेर आफ्नो धारणा राख्ने बानी छ । त्यो एकदमै गलत हो ।”

कुनै पनि विषयमा गहन गरेर मात्र आफ्नो धारणा बनाउन उनले सामाजिक सञ्जाल प्रयाेगकर्तालाई आग्रह गरे ।​

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८० १५:४०