close

क्रिकेट विश्वकपमा मोदीको उपस्थितिलाई लिएर भाइरल बन्यो काभ्रेको पनौती

टेकपाना टेकपाना

मंसिर ८, २०८० १५:२६

क्रिकेट विश्वकपमा मोदीको उपस्थितिलाई लिएर भाइरल बन्यो काभ्रेको पनौती

 

काठमाडौं । गत आइतवार भएको क्रिकेट विश्वकप फाइनलमा अस्ट्रेलियासँग भारतको पराजयलाई लिएर अनेक किसिमका टीकाटिप्पणी भइरहेका छन् । त्यस क्रममा एउटा शब्द निकै चर्चामा छ,पनौती । 

काभ्रे जिल्लाको एक पौराणिक बजार पनौतीको नाम क्रिकेट विश्वकपमा भने अन्धविश्वास तथा अपवित्रताको रूपमा चर्चित बनेको हो । 

त्यसो त नेपालमै समेत विभिन्न खेलकुदका क्रममा हुने हार तथा पराजयका क्रममा कसैलाई अन्धविश्वासी ढङ्गले दोष दिंदा यो शब्द सुनिने गर्छ । अहिले कतिपयले गुजरात स्थित नरेन्द्र मोदी स्टेडियममा भएको उक्त फाइनल खेलमा प्रधानमन्त्री मोदी सहभागी भएकै कारण भारत पराजय हुन पुगेको आरोप लगाइरहेका छन् । र उनलाई उक्त खेलमा पनौतीको संज्ञा दिन थालिएको छ । 

खासगरी भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले एक सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री मोदी “पनौती” कै कारण भारतले क्रिकेटमा पराजय व्यहोर्नुपरेको टिप्पणी गरेका थिए । उनले पीएम (प्राइम मिनिस्टर) को पूरा रूप बिगारेर “पनौती मोदी” भएको भन्दै छुद्र अभिव्यक्ति दिएका थिए । “हाम्रा युवाहरूले उक्त म्याच जित्ने वाला थिए, तर पनौतीले हराइदिए,” उनले भनेका थिए । 

नरेन्द्र मोदीको दल भाजपाले त सो अभिव्यक्तिको भर्त्सना गर्दै राहुल गान्धीले सार्वजनिक रूपमा नै माफी माग्नुपर्ने समेत भनेको थियो । 

यसरी सामाजिक सञ्जाल मात्र नभएर भारतका आम सञ्चारका माध्यममा समेत पनौती शब्दको प्रयोगलाई लिएर निकै बहस भइरहेको छ । यसअघि ट्वीटरको नाममा परिचित एक्समा त झन् “मोदी पनौती”, “पनौती” जस्ता शब्दावली ट्रेन्डिङमा नै आए । 

त्यस क्रममा काभ्रे जिल्लामा अवस्थित पनौती बजार यतिखेर भारतीय इन्टरनेट प्रयोगकर्ता माझ भाइरल बनिरहेको छ । पनौती शब्द अशुभ तथा नकारात्मक भावको रूपमा बढी प्रयोग भएकै कारणले मात्र काभ्रेको पनौती बजार भाइरल भएको चाहीं होइन ।

दुई दिन अघि मात्र भारतका लोकप्रिय पत्रकार रविश कुमारले भने मोदीलाई अशुभको संज्ञा दिन प्रयोग गरिएको पनौती शब्दलाई काभ्रेको पनौती बजारसँग जोडेर भिडिओ बनाएका छन् । यो समाचार तयार पार्दासम्म उक्त भिडिओ १४ लाखभन्दा बढीले हेरिसकेका छन् । 

उनले आफ्नो भिडिओका लागि नेपाली युट्युबर सागर  लामिछाने मगरको भिडिओ र स्थानीय जानकार प्रशान्त श्रेष्ठको सहारा लिएका छन् । पनौती शब्दको उत्पत्ति, त्यसको अर्थ कसरी अशुभ, अन्धविश्वासी र नकारात्मक बन्दै गयो भन्ने कुरा समेत खोजीको विषय बनिरहेको छ । 

कतिपयले अहिले पनौतीको अर्थ शुभ र सकारात्मक समेत हुने तर्क समेत गर्न थालेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले चाहेको खण्डमा पनौती शब्दसँग जोडिएको अशुभ तथा अन्धविश्वास तोड्न सक्ने सुझाव समेत पत्रकार रविशकुमारले दिएका छन् । 

त्यसका लागि मोदीले काभ्रेको पनौती भ्रमणमा जानुपर्ने र त्यसबाट पनौती शब्दलाई अन्धविश्वासबाट मुक्ति मिल्ने उनको भनाई छ । जहाँ धार्मिक मान्यता हुन्छ, त्यहाँ आआफ्नै किसिमका अन्धविश्वास पनि रहेका हुन्छन् । पनौती बजारले नै पनौती शब्दसँग जोडिएको अन्धविश्वास तोडिनेमा रविश विश्वस्त छन् ।

त्यसो त हिन्दु मान्यता अनुसार काभ्रेको पनौती एक पवित्र स्थान हो । जहाँ मकर सङ्क्रान्तिको समयमा १२ वर्षे मेला समेत लाग्ने गर्छ । त्यहाँ स्थित महादेवको मन्दिरलाई समेत पनौती मन्दिर भन्ने गरिन्छ ।

पनौतीको पूर्वमा बग्ने पद्‌मावती, लिलावती र रुद्रावतीबाट एकएक अक्षर लिएर त्यसको नाम राखिएको पलाती राखिएको र कालान्तरमा गएर त्यो पनौती बन्न पुगेको भनिन्छ । एउटा मान्यता यस्तो पनि छ कि शाह राजवंशका लागि पनौती शुभ नरहेको र राजाहरू पनौती जाँदैनथे ।

त्यसको कारण पनौतीका आफ्नै राजा थिए वासुकि, जसको सम्बन्ध नागसँग छ । त्यहाँ वासुकि नागको समेत पूजा हुने गर्छ । मान्यता अनुसार एकै स्थानमा दुई राजा हुनु खतरनाक हुन सक्छ । एउटा शब्दको भौगोलिक विस्तारले त्यसको अर्थ शब्दकोषीय अर्थभन्दा निकै धेरै व्यापक हुन सक्छ । पनौती शब्दलाई समेत त्यसैगरी नकारात्मक तथा अशुभ रूपमा अर्थ्याइएको हुन सक्ने ठानिएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८० १५:२६