close

तीन वर्षमै भारतीय युट्युबरले कमाए ३ खर्ब रुपैयाँ बढी

टेकपाना टेकपाना

बैशाख २२, २०८२ १३:५१

तीन वर्षमै भारतीय युट्युबरले कमाए ३ खर्ब रुपैयाँ बढी

काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले पछिल्लो तीन वर्षमा भारतीय कन्टेन्ट क्रियटरलाई २१ हजार करोड भारतीय रुपैयाँ (तीन खर्ब ३६ अर्ब नेपाली रुपैयाँ) भन्दा बढी भुक्तानी गरेको छ । युट्युबका प्रमुख कार्यकारी अधिकृत नील मोहनले मुम्बईमा आयोजित पहिलो वर्ल्ड अडियो भिजुअल एन्ड इन्टरटेनमेन्ट समिटमा बिहीबार यो जानकारी दिएका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै सीईओ मोहनले भारतीय क्रियटर, कलाकार र मिडिया कम्पनीलाई तीन वर्षमा मोटो रकम भुक्तानी गरेको बताए । “विगत एक वर्षमा मात्रै भारतमा १० करोडभन्दा बढी च्यानलले कन्टेन्ट अपलोड गरेका छन्,” उनले भने, “अबको दुई वर्षमा भारतीय कन्टेन्ट क्रियटर, आर्टिस्ट र मिडिया कम्पनी वृद्धि गर्न कम्पनीले ८५० करोड भारु लगानी गर्नेछ ।”

भारतका १० करोडभन्दा बढी च्यानलमध्ये १५ हजार क्रियटरले १० लाख सब्सक्राइबरको आँकडा पार गरिसकेको उनले बताए । सीईओ मोहनले भारतीय कन्टेन्टले भारत बाहिरका दर्शकबाट ४५ अर्ब घण्टाको वाच टाइम पाएको पनि उल्लेख गरे । 

मोहनले अगाडि भने, “कुनै पनि क्रियटरलाई जहाँ भए पनि विश्वभरका दर्शकसँग जोड्न सक्ने युट्युबको क्षमताले यसलाई सांस्कृतिक निर्यातको एक शक्तिशाली माध्यम बनाएको छ । र, केही देशले मात्र यसको उपयोग भारतले जस्तो प्रभावकारी तरिकाले गरेका छन् । आज भारत केवल फिल्म र सङ्गीतको मात्र विश्व अगुवा नभएर ‘क्रियटर नेसन’ बन्दैछ भन्ने कुरा बताउन पाउँदा म उत्साहित छु ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युट्युबमा विश्वकै सबैभन्दा बढी सब्स्क्राइबर हुने राजनीतिज्ञ हुन् । उनको च्यानलमा दुई करोड ५० लाख बढी सब्स्काइबर छन् । 

हालै युट्युबले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव मनाएको छ । यसको सुरुवात ‘मि एट द जु’ नामक १९ सेकेन्डको भिडिओबाट भएको थियो । सो भिडिओमा युट्युबका सह-संस्थापक जावेद करिमले चिडियाखानाको हात्ती अगाडि आफ्नो अनुभव रेकर्ड गरेका थिए ।

यो अवसरमा युट्युबले प्रयोगकर्ताका लागि नयाँ फिचर पनि ल्याउँदैछ । यसमा ‘आस्क म्युजिक’ मार्फत व्यक्तिगत रेडियो स्टेसन, ४ गुणासम्म छिटो प्लेब्याक गति र युट्युब टिभी प्रयोगकर्ताका लागि आफ्नै मल्टिभ्यु एक्सपिरियन्स तयार गर्ने फिचर समावेश छन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १४:१६