काठमाडौं । नक्कली रिभ्यु तथा भ्रामक सामग्री रोक्न गुगल म्याप्सले नयाँ कदम चालेको छ । एक ब्लग लेख्दै गुगलले आफ्नो नीति उल्लघंन गर्ने कन्टेन्टलाई नियन्त्रण गर्न यस्ताे कदम चालेकाे हाे ।
नयाँ फिचरले मानिसहरूले म्याप्स कसरी प्रयोग गर्छन् र अरूलाई असर पुर्याउन म्याप्स प्रयोग गर्छन्/गर्दैनन् भन्ने कुरालाई विशेष तरिकाले हेर्ने बताइएको छ । जसमा प्रयोगकर्ताले योगदान गरेको सामग्रीमा असामान्य गतिविधि भए त्यसमा कदम चालिनेछ ।
जस्तो; कुनै पनि होटलको एकाएक राम्रो स्टारसहित रिभ्यु बढ्दै छ भने गुगलले त्यसमा उपयुक्त कदम चाल्ने छ । त्यस्तै भ्रामक सामग्री फैलाउनबाट रोक्न फोन नम्बर र ठेगानाजस्ता महत्त्वपूर्ण जानकारीहरू सम्पादन गर्ने प्रयोगकर्ताको क्षमतालाई सीमित गरिने छ ।
विशेष गरेर चुनावजस्तो संवेदनशील समयमा विभिन्न ठाउँ र प्रतिष्ठानहरूको सुरक्षा गर्न गुगलले यस्ताे फिचरमा काम गरेकाे हाे । साथै अरुलाई चोट पुर्याउने वा खराब जानकारी फैलाउने प्रयोगकर्तालाई म्याप्समा प्रतिबन्ध लगाइने छ ।
समग्रमा गुगल म्याप्सलाई सुरक्षित र भरपर्दो बनाउन गुगलले यस्तो कदम चालेको हाे । यसअघि मात्रै गुगल म्याप्समा विभिन्न एआई फिचर सार्वजनिक भएकाे थियाे ।