close

जन्म दिनको गिफ्टमा आईफोन लोभ गर्दा तीन लाख रुपैयाँ स्वाहा

टेकपाना टेकपाना

मंसिर ११, २०८० १९:४६

जन्म दिनको गिफ्टमा आईफोन लोभ गर्दा तीन लाख रुपैयाँ स्वाहा

 

काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । साइबर ब्युरोले पाँचथर फिदिम नगरपालिका वडा नं. ११ घर भई हाल झापा बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने ३४ वर्षीया कमला मिश्रलाई मङ्गलवार पक्राउ गरेको हो ।

ब्युरोका अनुसार कार्यालयमा हालै एक पीडितले आफू सामाजिक सञ्जालका माध्यमबाट ठगीमा परेको भन्दै उजुरी दिएका थिए । उजुरी अनुसार ठगी गर्ने व्यक्ति सबैभन्दा पहिले पीडितसँग सामाजिक सञ्जालबाट सम्पर्कमा आएकी थिइन् । 

त्यसपछि कुरा गर्दै जाँदा मिश्रले आफू यूके (बेलायत) को नागरिक हुँ भन्दै विवाह नभएको र एक्लो भएको विश्वास दिलाएकी थिइन् । पछि पीडितको जन्मदिनको उपलक्ष्यमा मिश्रले आईफोन, लुगा, ब्याग, सुनको घडी तथा ७० हजार डलर पठाइदिने प्रलोभन दिइन् । 

त्यसपछि सामान डेलिभरीका लागि गइसकेको भन्दै फोटो समेत पठाइन् । सोही क्रममा विभिन्न बहानामा पीडितलाई रकम पठाउन लगाइन् । 

त्यति बेलासम्म पीडितले तीन लाख ३० हजार रुपैयाँ पठाइसकेका थिए । त्यतिका रकम पठाइसक्दा पनि गिफ्ट नआएपछि पीडितले आफू ठगिएको महसुस गरेर साइबर ब्युरोमा उजुरी दिए । साइबर ब्युरोले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्दै जाँदा मिश्रलाई पक्राउ गरेको हो । 

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८० १९:४७