close

सीजी मोटर्सले बिर्तामोड, वीरगन्ज र धनगढी गरी ३ स्थानमा खोल्यो नेटा भीका नयाँ शोरूम

टेकपाना टेकपाना

मंसिर ११, २०८० २०:२३

सीजी मोटर्सले बिर्तामोड, वीरगन्ज र धनगढी गरी ३ स्थानमा खोल्यो नेटा भीका नयाँ शोरूम

काठमाडौं । सीजी मोटर्सले देशका विभिन्न तीन स्थानमा आफ्ना नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । नेपालका लागि नेटा भी, ११ सिट क्षमताको केवाईसी भ्यान, १४ र १९ सिटे किङलङ भ्यानको आधिकारिक बिक्रेताको रूपमा रहेको सीजीले बिर्तामोड, वीरगन्ज र धनगढीमा गरी तीन ओटा नयाँ शोरूम खोलेको हो ।

कम्पनीका अनुसार बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्युटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट र धनगढीमा ब्रम्हा मोटर्सले शोरूम सञ्चालनको जिम्मा पाएका छन् । शोरूमका साथै ग्राहकको सुविधाका लागि तीनै स्थानमा सर्भिस स्टेसन पनि छिट्टै सञ्चालनमा आउने सीजी मोटर्सले जनाएको छ ।

कम्पनीले बिक्री गर्दै आएको नेटा भी हाल ईभी बजारमा लोकप्रिय मध्येको एउटा गाडी बन्न पुगेको छ । मुख्यतया मूल्य तथा यसमा रहेका विभिन्न फिचर, ३८० किमि रेन्जका कारण ग्राहकहरू नेटा भी तर्फ आकर्षित हुने गरेका छन् ।

१७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको नेटा भीमा आठ वर्ष अथवा एक लाख ५० हजार किमिको वारेन्टी रहेको छ । साथै नेपालमै सर्वाधिक बिक्री हुने विद्युतीय भ्यान सीजी केवाईसी तथा किङलङ सहज तथा सुलभ किस्तामा पाउन सकिने व्यवस्था सीजी मोटर्सले मिलाएको छ ।

कम्पनीले यसअघि काठमाडौंको नक्साल र पोखरामा आफ्नो शोरूम सञ्चालनमा ल्याइसकेको छ । कम्पनीका अनुसार विराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल र कोहलपुरमा समेत विस्तारित शोरूम र सर्भिस उपलब्ध गराउने तयारी भइरहेको छ ।

हाल नेपालभर ५० भन्दा धेरै स्थानमा चार्जिङ सेवा स्थापना भइसकेको दाबी गर्दै सीजीले थप ५० स्थानमा उक्त सुविधा उपलब्ध गराउने बताएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८० २०:२४