close

मेटाले एकैपटक हटायो चीनसँग सम्बन्धित हजारौं फेक फेसबुक अकाउन्ट

टेकपाना टेकपाना

मंसिर १७, २०८० ८:५९

मेटाले एकैपटक हटायो चीनसँग सम्बन्धित हजारौं फेक फेसबुक अकाउन्ट

 

काठमाडौं । मेटाले चीनमा आधारित समूहको हजारौं नक्कली अकाउन्टहरू आफ्नो प्लेटफर्मबाट हटाएको छ । अमेरिकी राजनीति र अमेरिका-चीन सम्बन्धको बारेमा नकारात्मक सामग्री फैलाउने समूहका चार हजार ७०० बढी अकाउन्टलाई हटाएको मेटाले जनाएको हो ।

त्यस समूहले गर्भपतन, सांस्कृतिक युद्धका मुद्दा र युक्रेनलाई गरिएको सहयोग जस्ता विषयहरू समेत प्रचार गरेको मेटाको भनाइ छ । तर त्यसरी हटाइएका अकाउन्टलाई मेटाले  बेइजिङका अधिकारीहरूसँग जोडेको बताएको छैन । यद्यपि २०२४ मा हुने अमेरिकी चुनावअघि चीनमा आधारित त्यस्ता समूह बढेको मेटाले जनाएको छ । 

गत बिहीवार एक प्रतिवेदन सार्वजनिक गर्दै त्यस प्रकारका गलत सामग्री फैलाउनेमा रुस र इरानपछि चीनमा तेस्रो ठूलो समूह रहेका मेटाले उल्लेख गरेकाे छ । बन्द गरेका त्यस्ता अकाउन्ट चलाउने समूहले आफ्नो अकाउन्टमा अन्य प्रयोगकर्ताका प्रोफाइल तस्वीर र नाम चोरेर राख्ने मेटाको भनाइ छ। त्यस्तै उक्त समूहले एकअर्कोका पोष्टहरू नै शेयर र लाइक गर्ने गरेको मेटाले उल्लेख गरिएको छ । साथै कतिपय अकाउन्टबाट रिपब्लिकन र डेमोक्र्याटका अमेरिकी राजनीतिज्ञहरूको भाषण पोस्ट गरिएको जनाइएको छ । 

प्राय: त्यस्ता नेटवर्कहरूद्वारा शेयर गरिएको सामग्री गलत नहुने, बरु प्रमुख मिडियाहरूबाट प्रकाशन भएका समाचारहरू हुने बताइएको छ । तर सर्वसाधारणको विचार परिवर्तन तथा कुनै विचारलाई लोकप्रिय बनाउन ती सामग्रीहरू प्रयोग गरिएको मेटाले जनाएको छ ।

यससँगै उही प्रकृतिको दुई ओटा साना समूह पनि आफूले पत्ता लगाएको मेटाले उल्लेख गरेको छ । तीमध्ये चीनमा आधारित समूहले भारत र तिब्बत सम्बन्धी र रुसमा आधारित अर्को समूहले रुस-युक्रेन युद्धबारे पोस्टहरू गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर १७, २०८० ८:५९