close

एनसेलको शेयर खरिद-बिक्रीबारे उच्च स्तरीय समितिमार्फत छानबिन गर्ने सरकारको निर्णय

टेकपाना टेकपाना

मंसिर १९, २०८० २१:३१

एनसेलको शेयर खरिद-बिक्रीबारे उच्च स्तरीय समितिमार्फत छानबिन गर्ने सरकारको निर्णय

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको शेयर खरिद-बिक्रीका सम्बन्धमा छानबिन गर्न सरकारले उच्च स्तरीय समिति गठन गर्ने भएको छ । यस सम्बन्धमा सरकारको तर्फबाट विज्ञप्ति जारी गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समितिमार्फत विस्तृत अध्ययन तथा छानबिन हुने जानकारी दिइन् ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न सम्माननीय प्रधानमन्त्रीले १८ मंसिरमा सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मन्त्री शर्माले उल्लेख गरिन् ।

नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानूनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने उनको भनाइ छ ।

''यस अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा सरकारले सम्बन्धित सबैलाई तत्काल कानून बमोजिम कडा कारवाहीको दायरामा ल्याउनेछ,;' मन्त्री शर्माले विज्ञप्तिमा भनेकी छन्, नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानूनको पालना गर्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको छ ।''

उक्त समितिमा कति जना र काेकाे रहनेछन् भनेर मन्त्रिपरिषद्काे बैठकले टुङ्ग्याउने उनले बताइन् ।​

मङ्सिर १३ गते एनसेलको ८० प्रतिशत शेयर भएको मलेसियन कम्पनी आजियाटा ग्रुपले एनसेल बिक्रीमा राख्ने निर्णय भएको जानकारी दिएको थियो । त्यसको दुई दिनपछि मङ्सिर १५ गते आजियाटाले साढे छ अर्ब रुपैयाँमा सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई ८० प्रतिशत शेयर बिक्री गरेको घोषणा गरेको थियो । 

आजियाटाको नाममा रहेको ८० प्रतिशत शेयरसमेत खरिद गरेसँगै एनसेलको लगभग शतप्रतिशत शेयर हिस्सेदारी शतिशलाल आचार्य परिवारको हातमा पुगेको छ ।

एनसेलको शेयर खरिद बिक्री अप्रत्याशित र अस्वाभिवक भएको भन्दै सार्वजनिक वृत्तमा आलोचना भइरहेको छ । यस  घटनामा सत्ताधारी नेताहरूकै संलग्नता रहेको आरोप समेत लागेको छ । 

सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री शर्माले एनसेल शेयर खरिद-बिक्री प्रकरणमा सत्ताधारी माओवादी र नेपाली कांग्रेसका नेताहरूको संलग्नता नरहेको दाबी गरिन् । विभिन्न सञ्चारमाध्यममा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका परिवारका सदस्यहरूको संलग्नता रहेको खबर आएपछि मन्त्री शर्माले यसकाे खण्डन गरेकी हुन् ।

 

याे पनि पढ्नुहाेस्:

बेलायती कम्पनी स्पेक्ट्रलाइटले साढे ६ अर्बमा किन्यो एनसेल 

एनसेलको नाममा यसरी लुटिंदैछ नेपाल

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८० २१:४४