close

नियामकलाई एनसेलको पत्र- ‘शेयर खरिद-बिक्री सम्झौताको कागजात संकलन गर्दैछौं, चाँडै पेस गर्छौं’

टेकपाना टेकपाना

मंसिर २०, २०८० १५:४३

नियामकलाई एनसेलको पत्र- ‘शेयर खरिद-बिक्री सम्झौताको कागजात संकलन गर्दैछौं, चाँडै पेस गर्छौं’

 

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक एनसेलले आफ्नो शेयर खरिद बिक्री सम्बन्धमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी गराएको छ । प्राधिकरणले मंसिर १५ गते एनसेलकाे शेयर खरिद-बिक्री सम्बन्धमा लिखित जानकारी माग गरेपछि एनसेलले मंगलबार नियामकलाई पत्र पठाएकाे हाे ।

उक्त पत्रमा एनसेलको शेयरधनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत शेयर खरिद-बिक्री गर्ने सम्बन्धमा आजियाटा यूके र स्पेक्ट्रलाइट युके लिमिटेडका बीचकाे शेयर खरिद बिक्री सम्झौताका कागजातहरू संकलनका क्रममा रहेकाे र कागजात संकलनपछि प्राधिकरण समक्ष शेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेश गरिने उल्लेख छ ।

''शेयर खरिद बिक्रीका लागि भएको द्विपक्षीय सम्झौता समेतका कागजातहरू तदारुकताका साथ सम्बन्धित पक्षहरूबाट संकलनको क्रममा रहेको व्यहोरा अवगत गराउन चाहन्छौं,’ पत्रमा भनिएकाे छ ।

कानूनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकोले आफ्नो कानूनी कर्तव्य पालनामा सदैव जागरूक र प्रतिवद्ध रहेको उल्लेख गर्दै पत्रमा थप भनिएकाे छ, ''.... नियमावली र विनियमावलीका प्रावधानहरुको पूर्ण परिपालना गर्न सदा झैं एनसेल आजियाटा लिमिटेड प्रतिबद्ध रहेको ब्यहोरा सादर निवेदन गर्दै नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री विनियमावली, २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरु संकलन हुनासाथ तत्काल सो कागजातहरु संलग्न गरी दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम तहाँ प्राधिकरण समक्ष शेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेश गरिने व्यहोरासमेत सादर अवगत गराउन चाहन्छौं ।''

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८० १५:४३