close

भारतीय अन्तरिक्ष यान ‘आदित्य एल वन’ ले पठायो सूर्यका रंगिबिरंगी तस्वीर

टेकपाना टेकपाना

मंसिर २३, २०८० १४:३२

भारतीय अन्तरिक्ष यान ‘आदित्य एल वन’ ले पठायो सूर्यका रंगिबिरंगी तस्वीर

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले पठाएको आदित्य एल वन (Aditya-L1)ले अल्ट्राभायोलेट वेभलेन्थ प्रयोग गरी सूर्यको पहिलो पटक पूर्ण तस्वीर खिचेको छ । इसरोले आफ्नो आधिकारिक एक्स अकाउन्टमा आदित्य एल वनले खिचेका सूर्यका केही तस्वीरहरू शेयर गर्दै यसको जानकारी दिएको हो ।

इसरोका अनुसार सूर्यका यी तस्वीरहरू सोलार अल्ट्राभायोलेट इमेजिङ टेलिस्कोप (एसयूआईटी) पेलोड मार्फत प्राप्त खिचिएको हो । एसयूआईटी आदित्य एल वनमा राखिएका सात ओटा उपकरणहरूमध्ये एक हो । यसको मुख्य काम सोलार फोटोस्फियर र क्रोमोस्फियरको अल्ट्राभायोलेट तस्वीरहरू खिच्नु र सूर्यको प्रकाशमा हुने ऊर्जा कसरी परिवर्तन हुन्छ भनेर अध्ययन गर्नु रहेको छ । 

हालै खिचिएका यी तस्वीरहरूमा २०० देखि ४०० नानोमिटरसम्मको वेभलेन्थ समेटिएको इसरोले जनाएको छ । साथै यस पटक कैद भएका विवरण यस अगाडि कहिल्यै नखिचिएको समेत बताइएको छ । आदित्य एल वनले पठाएको यो डेटा सूर्य र पृथ्वीमा सूर्यको प्रभाव अध्ययन गर्ने वैज्ञानिकहरूको लागि उपयोगी हुने जनाइएको छ ।

त्यस्तै एसयूआईटी बाहेक आदित्य एल वनमा राखिएका अन्य पेलोडहरू पनि सञ्चालनमा आइसकेको बताइएको छ ।  जसमा सोलार विन्ड आयन स्पेक्ट्रोमिटर (एसडब्लुआईएस),हाई इनर्जि एल वन अर्बिटिङ एक्स रे स्पेट्रोमिटर (एचईएलवनओएस) जस्ता पेलोड रहेका छन् ।

सूर्यबारे अध्ययन गर्न गत सेप्टेम्बर २ भारतले शतीस धवन अन्तरिक्ष केन्द्रबाट आदित्य एलवन प्रक्षेपण गरेको थियो । इसरोले यस मिसनमार्फत सूर्यको विकिरण, ताप, कणहरूको प्रवाह र चुम्बकीय क्षेत्र लगायतको अध्ययन गर्ने लक्ष्य राखेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०८० १५:१७