close

शक्तिशाली एआई मोडेल देखाउन गुगलले बनाएको भिडिओ नै फेक !

टेकपाना टेकपाना

मंसिर २३, २०८० १६:२०

शक्तिशाली एआई मोडेल देखाउन गुगलले बनाएको भिडिओ नै फेक !

काठमाडौं । गत बुधबार शक्तिशालीको उपमा दिँदै गुगलले जेमनाई एआई (Gemini AI) सार्वजनिक गर्‍यो । उक्त नयाँ लार्ज ल्याङ्ग्वेज मोडल अथवा एलएलएमको क्षमतालाई गुगलले एउटा भिडिओमार्फत देखाएको थियो ।

भिडिओले छोटो समयमै प्रयोगकर्ताहरूको मन जित्यो । धेरैले प्रशंसा गर्दै आफ्नो सामाजिक सञ्जाल अकाउन्टहरूमा शेयर गरे । भिडिओमा प्रयोगकर्ता (मान्छे) सँग जेमनाइले अन्तर्क्रिया गरेको देख्न सकिन्छ । तर अहिले गुगलको उक्त भिडिओमा देखाएको कुरा झुटो भएको पत्ता लागेको छ ।

छोटो समयमा राम्रो प्रतिक्रिया पाउन डेमो भिडिओलाई सम्पादन मात्र गर्नुका साथै प्रयोगकर्ता र एआईबीच नभएको कुराकानी गुगलले देखाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । भिडिओको वास्तविकता बाहिरिएपछि गुगलले समेत सत्यताबारे बताएको छ । 

विभिन्न मिडियाका अनुसार उक्त भिडिओ पहिल्यै तयार पारेका तस्वीर तथा प्रम्ट प्रयोग गरेर बनाइएको थियो । त्यस्तै प्रयोगकर्ता र एआईबीच वास्तविक सयममा कुराकानी नभइ सम्पादन गरिएको थियो ।

गुगलले जेमनाइलाई शक्तिशाली देखाउन त्यस्तो कार्य गरेको कतिपयले उल्लेख गरेका छन् । कतिपयले भने गुगल आफ्नो प्रयोगकर्तासँग पारदर्शी नभएको र जेमनाइको क्षमतामाथि शङ्का गर्ने ठाउँ भएको प्रतिक्रिया दिएका छन् ।

यद्यपि उत्पादनबारे नक्कली भिडिओ बनाएको गुगलको यो पहिलो गल्ती भने होइन । यसअघि सन् २०१८ को गुगल आई/ओमा डुप्लेक्स (Google Duplex) बारे गुगलले सम्पादित भिडिओ देखाएर नै प्रयोगकर्ताको मन जित्ने कोसिस गरेको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०८० १६:३०