close

लक गरिएका फेसबुक अकाउन्टबारे के सोच्छन् नेपाली प्रयोगकर्ता ?

टेकपाना टेकपाना

मंसिर २४, २०८० १४:५

लक गरिएका फेसबुक अकाउन्टबारे के सोच्छन् नेपाली प्रयोगकर्ता ?

काठमाडौं । सन् २०२० ताका कोभिड महामारीले विश्वभर उग्र रूप लिइरहेको थियो । कोरोना भाइरसबाट सङ्क्रमण हुने डरले अधिकांश देशले निषेधाज्ञा लगाएको अवस्था थियो । जसले गर्दा मानिसहरू खुला रूपमा आफ्नै छिमेकीको घरमा जान पनि डराउने परिस्थिति थियो । त्यस्तो समय बिताउन इन्टरनेट गज्जबको विकल्प बनिदियो । त्यसअघि इन्टरनेट बिरलै प्रयोग गर्ने मानिसहरू कोभिडको समयमा सूचनाको प्रमुख स्रोत नै सामाजिक सञ्जालका प्लेटफर्मलाई मान्न थाले । 

सामाजिक सञ्जालका प्लेटफर्ममा जति प्रयोगकर्ताको सङ्ख्या बढ्दै गयो, त्यति नै त्यसमा भ्रामक सूचना, ट्रोल सामग्री, दुर्व्यवहार गरेका घटना बढ्न थाले । विशेषगरी एसियाली क्षेत्र, जहाँ डिजिटल साक्षरताको अवधारणामा कम छ त्यस क्षेत्रमा अनलाइन दुर्व्यवहारका घटना बढ्न थाले । त्यसमा पनि सामाजिक सञ्जाल फेसबुकका ३३ करोड ६० लाख प्रयोगकर्ता भएको भारतमा अनलाइन दुर्व्यवहारका घटना अत्यधिक बढेका थिए । 

विशेषगरी विवाहित महिला तथा किशोरीहरूलाई लक्षित गर्ने र उनीहरूले फेसबुकमा राखेका फोटोलाई तोडमोड गरी दुर्व्यवहार गर्ने घटना देखिन थाले । यसलाई नियन्त्रण गर्न फेसबुकको मातृ कम्पनी मेटाले मे २०२० मा पहिलो पटक भारतमा प्रोफाइल लक फिचर ल्याएको थियो । 

प्रोफाइल लक गर्दा आफूसँग जोडिएका व्यक्तिबाहेक अन्यले आफ्ना स्टाटस, फोटो, भिडिओ लगायत अन्य व्यक्तिगत जानकारी देख्न नसक्ने भएपछि यो फिचर धेरैको रोजाइमा पर्‍यो ।​ सुरुवातमा महिलालाई लक्षित गरेर ल्याइएको यो फिचर पछि पुरुष र अन्य वर्गका लागि पनि उत्तिकै महत्त्वपूर्ण भयो । यो फिचर आएपछि विशेषगरी उच्च ओहदामा रहेका व्यक्तिहरूलाई आफ्ना व्यक्तिगत तथा पारिवारिक गतिविधि फेसबुकमा राख्न सहज भयो । 

फेसबुकले भारतमा सबैभन्दा पहिले ल्याएको यो फिचर विस्तारै अन्य देशहरूमा पनि उपलब्ध हुन थाल्यो । पछिल्ला केही महिनामा यो फिचर नेपालमा पनि उपलब्ध हुन थालेको छ । अधिकांश प्रयोगकर्तामाझ उपलब्ध यो फिचरबारे सामाजिक सञ्जालमा भने बढी ट्रोल हुने गरेको छ ।

यस विषयमा टेकपानाले फेसबुक पेजमार्फत प्रश्न राखेको थियो । “तपाईंलाई लक गरिएको फेसबुक अकाउन्टबाट फ्रेण्ड रिक्वेस्ट आउँदा कस्तो लाग्छ ?” प्रश्नमा अधिकांश प्रयोगकर्ताले ‘प्रोफाइल लक’ सम्बन्धी नकारात्मक धारणा व्यक्त गरेका छन् । 

“म त स्वीकार गर्दिनँ, डिलिट गरिदिन्छु, ब्लक हान्न मन लाग्छ, चाँहिदाको भाँडो नचाहिँदाको ठाँडो जस्तो लाग्छ, गाला चड्काई दिउँ जस्तो लाग्छ, अनुहार देखाउनको लागि लायक रहेनछ भन्ने लाग्छ, कतै भेटे राम धुलाई हान्नु जस्तो लाग्छ, अँध्यारोमा आएको भूत जस्तो लाग्छ, ठूलो मान्छेको फ्रेन्ड रिक्वेस्ट आयो जस्तो लाग्छ, ढोकामा चुक्कुल लगाएर भित्र बोलाए जस्तो राख्छ, वाहियात लाग्छ, प्रोफाइलमा ३३ किलो सुन भएझैं लाग्छ, नक्कली अकाउन्ट हो जस्तो लाग्छ,” उक्त पोस्टमा अधिकांश यस्तै जवाफहरू आएका छन् ।

केहीले भने प्रोफाइल लक गरे/नगरेको वास्ता नगर्ने र चिनेको छ भने एसेप्ट गर्ने नत्र रिक्वेस्ट डिलिट गर्ने वा यत्तिकै छोड्ने गरेको उल्लेख गरेका छन् । केही प्रयोगकर्ता भने प्रोफाइल लक गर्दा गोपनीयता सुरक्षित हुने भन्दै त्यस्तो रिक्वेस्ट आउँदा खुसी लाग्ने भाव व्यक्त गरेका छन् । 

“सामाजिक सञ्जाल प्रयोग गर्न जानेको र आफ्नो व्यक्तिगत सुरक्षामा जानकार रहेको भन्ने लाग्छ,” एक प्रयोगकर्ताले लेखेका छन् । अर्का एक प्रयोगकर्ताले सो प्रश्नको जवाफमा लेखेका छन्, “उसको नजिकका मान्छेमध्ये म पनि एक रहेछु जस्तो लाग्छ, जोसँग उ आफ्ना तस्वीर लुकाउन चाहँदैन ।”

यस फिचरबारे केही सीमित प्रयोगकर्ताले सकारात्मक धारणा राखे पनि अधिकांशले भने नकारात्मक धारणा राखेको पाइयो । 

प्रोफाइल लक फिचरप्रति किन नकारात्मक छन् प्रयोगकर्ता ?

फेसबुकमा कसैको फ्रेन्ड रिक्वेस्ट आउँदा सबैभन्दा पहिले नाम र प्रोफाइल फाेटाे नै मस्तिष्कमा आउँछ । फ्रेन्ड रिक्वेस्ट आएको नोटिफिकेसन खोलेर त्यस्ता अकाउन्ट हेर्न खोजियो भने उनीहरूको प्रोफाइल फोटो जुम गरेर हेर्न सकिंदैन ।

नाम चिनेको जस्तो लागेन तर प्रोफाइल फाेटाे हेर्न खोज्दा सो फोटो खुलेन भने दिक्क हुनु स्वाभाविक हो । त्यस्तै लक गरिएका अकाउन्टमा सो व्यक्तिसँग एड भएका र म्युचल फ्रेन्ड देखाउँछ । तर, सो व्यक्तिले फ्रेन्ड जोकोहीले देख्न सक्ने बनाएको हुनुपर्छ । त्यसबाहेक अरू कुनै विवरण हेर्न सकिंदैन । 

सामान्यतः फ्रेन्ड रिक्वेस्ट आएको व्यक्तिले यी विविध पक्षलाई आधार मानेर रिक्वेस्ट स्वीकार गर्ने वा अस्वीकार गर्ने निर्णय लिन्छ । कुनै विवरण हेर्न नमिल्ने भएपछि नकारात्मक धारणा भएको विश्लेषण गर्न सकिन्छ । 

प्रोफाइल लक गर्न किन आवश्यक पर्छ ? 

प्रोफाइल लक फिचर गोपनीयता सुरक्षाको कोणबाट निकै उपयोगी फिचर हो । प्रयोगकर्तालाई यो फिचरका के-कस्ता फाइदा छन् भन्नेबारे तल चर्चा गरिएको छ । 

१) गोपनीयता सुरक्षित हुन्छ

फेसबुकमा राखिएका कतिपय पोस्टहरू आफूसँग एड भएका व्यक्तिहरूले मात्र देख्नका लागि अपलोड गरिएको हुन्छ । यस्ता पोस्ट साथीले मात्र देखून् भन्नका लागि प्राइभेसी सेटिङमा ‘वन्ली फ्रेन्ड’ को अप्सन पनि छान्न सकिन्छ । तर, सबै अवस्थामा उक्त अप्सन राख्नुपर्छ भन्ने ख्याल नहुन सक्छ ।

प्रोफाइल लक गर्दा सबै पोस्ट एड भएका व्यक्तिले मात्र देख्ने सेटिङ स्वतः सेट हुन्छ । त्यसबाहेक पनि आफूसँग एड भएका व्यक्ति बाहेक अरूले प्रोफाइलमा भएको सूचना  हेर्न पाउँदैनन् । यस्तो हुँदा अनाधिकारिक व्यक्तिले तपाईंका व्यक्तिगत जानकारी थाहा पाउन सक्दैन । 

२) अरूले गर्ने दुर्व्यवहारबाट जोगिन

कतिपय अवस्थामा हामीले कुनै पेज वा ग्रुपमा राखेको पोस्ट वा ती पोस्टमा गरेको कमेन्टलाई लिएर दुर्व्यवहार गर्नेहरू हुन्छन् । विशेषगरी राजनीति, धर्म, भाषा र संस्कृतिका विषयमा बहस गर्दा अर्को पक्षले तपाईंलाई अनलाइन दुर्व्यवहार गर्न सक्छ ।

विशेषगरी तपाईंका पोस्ट, फोटो तथा भिडिओमा असान्दर्भिक रियाक्ट, असान्दर्भिक कमेन्ट गरिदिन सक्छन् । त्यसैले यस्ता जोखिमबाट जोगिन पनि प्रोपाइल लक गर्न आवश्यतक छ । 

३) सीमित व्यक्तिहरूमाझ मात्र प्रस्तुत गर्न 

यदि तपाईंको प्रोफाइल लक छ भने तपाईंका जानकारी अन्य प्लेटफर्ममा भेटिंदैनन् । यदि तपाईंको प्रोफाइल पब्लिक छ भने तपाईंका जानकारी गुगल सर्च इन्जिनमा भेटिन्छन् ।

त्यस्तोमा तपाईंको जानकारी चिनेको वा अञ्जान व्यक्तिसम्म पुग्न सक्छ । त्यसैले आफ्नो विवरण सीमित व्यक्तिहरूमाझ मात्र प्रस्तुत गर्न प्रोफाइल लक फिचर उपयुक्त हुन्छ । 

४) अनावश्यक व्यक्तिसँग जोडिनबाट जोगिन

प्रोफाइल लक गर्दा अनावश्यक व्यक्तिले तपाईंको जानकारी देख्न नसक्ने हुँदा फ्रेन्ड रिक्वेस्ट पठाउनबाट पछि हट्न सक्छ । यसरी अनावश्यक व्यक्तिले फ्रेन्ड रिक्वेस्ट नपठाउन् भन्ने चाहनु हुन्छ भने प्रोफाइल लक गर्न आवश्यक हुन्छ । 

५) फोटो दुरुपयोग हुनबाट जोगिन

खराब मानसिकता भएका व्यक्तिले तपाईंको फोटो विभिन्न तरिकाले दुरुपयोग गर्न सक्छन् । विशेषगरी नक्कली अकाउन्ट बनाउन तपाईंको फोटो दुरुपयोग गर्नेहरू पनि हुन सक्छन् । त्यसैले आफ्नो फोटो दुरुपयोग हुनबाट जोगाउन तपाईंले प्रोफाइल लक गर्नु उपयुक्त हुन्छ । 

प्रोफाइल कसरी लक गर्ने ? 

प्रोफाइल लक फिचर मेटाले अधिकांश अकाउन्टलाई उपलब्ध गराइसकेको छ । यदि तपाईंले आफ्नो अकाउन्ट ‘प्रोफेस्नल मोड’मा राख्नु भएको छ भने तपाईंको अकाउन्टमा सो फिचर उपलब्ध नहुन सक्छ ।

त्यसैले सबैभन्दा पहिले तपाईंले आफ्नो अकाउन्टको प्रोफेस्नल मोड हटाउनुपर्ने हुन्छ । यदि तपाईंको अकाउन्ट प्रोफेस्नल मोडमा छैन भने तपाईंले तलको तरिका अपनाएर प्रोफाइल लक गर्न सक्नुहुन्छ । 

  • सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।

  • त्यसपछि माथि दायाँपट्टि रहेको तपाईंको प्रोफाइलमा ट्याप गरेर आफ्नो टाइमलाइनमा जानुहोस् । 

  • अनि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् । 

  • र, ‘लक प्रोफाइल’ को अप्सनमा ट्याप गर्नुहोस् ।

  • यति गरेपछि अन्तिममा रहेको ‘लक योर प्रोफाइल’ को बटनमा थिच्नुहोस् । 

  • यसरी तपाईं आफ्नो प्रोफाइल लक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८० १४:१८