close

नेपालीलाई म्यानमार पुऱ्याएर बन्धक बनाई अनलाइन स्क्याम गर्न लगाउने युवक पक्राउ

टेकपाना टेकपाना

मंसिर २५, २०८० १०:४५

नेपालीलाई म्यानमार पुऱ्याएर बन्धक बनाई अनलाइन स्क्याम गर्न लगाउने युवक पक्राउ

काठमाडौं । म्यानमार पुर्‍याएर बन्धक बनाई अनलाइन स्क्याम गर्न लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले शुक्रवार ती युवकलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं ३ घर भएका ३६ वर्षीय बुद्ध लामा रहेका छन् । ब्यूरोका अनुसार आरोपी लामाले पीडितलाई थाइल्याण्डस्थित चिनियाँ कम्पनीमा अंग्रेजी ट्रान्सलेटरको राम्रो रोजगारीको प्रलोभन देखाएका थिए । उनीहरूलाई त्यसरी ट्रान्सलेटरको काम गरेवापत मासिक एक लाख ३० हजार रुपैयाँ दिने भनिएको थियो ।

त्यसपछि पीडितलाई झुक्याएर म्यानमारको म्यावाड्डीस्थित चिनीयाँ कम्पनीमा पुर्‍याए । उनीहरूलाई त्यस कम्पनीमा लगिसकेपछि बन्धक बनाएर दिनको १८ देखि २० घण्टासम्म विभिन्न व्यक्तिलाई अनलाइनमा ठग्ने काममा लगाए ।

उनीहरूलाई विशेषगरी फेसबुक, हृाटसएप, ट्वीटर जस्ता सामाजिक सञ्जाल मार्फत अमेरिकी, युरोपेली नागरिकलाई के कसरी ट्रयापमा पारी अनलाइनमार्फत बिटक्वाइनमा लगानी गर्न आकर्षित गर्न सकिन्छ भन्ने बारेमा सात दिनको तालिम दिएको अनुसन्धानबाट खुलेको छ ।

पीडित नेपालीलाई काममा लगाइसकेपछि उनीहरूले भनेको टार्गेट पूरा नगरे पीडितलाई कुटपिट गर्ने, ईलेक्ट्रिक सक (करेन्ट) लगाउने जस्ता शारीरिक, मानसिक यातना दिने गरेका थिए ।

कम्पनीलाई चारैतिरबाट सुरक्षा गार्डले पहरा दिनुका साथै सीसी क्यामेरा समेत जडान गरी कम्पनीभन्दा बाहिर आफूखुसी जान नपाउने गरी कम्पनीभित्रै साइबर दास बनाएर राखेको प्रहरीले जनाएको छ ।

पीडितहरूले आफू जसरी पनि नेपाल फर्कन्छु भन्दा उनीहरूबाट आठ लाख रुपैयाँ तिर्न बाध्य पारेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका लामामाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ भने सो घटनामा संलग्न अन्य व्यक्तिको खोजीकार्य भइरहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८० १०:४५