काठमाडौं । सामाजिक सञ्जालका विभिन्न माध्यममा महँगा फोनको विज्ञापन राखेर १० लाख बढी ठगी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरका विभिन्न स्थानबाट ती युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा घर भई हाल ललितपुर ग्वार्को बस्ने ३३ वर्षीय अफताब आलम र महोत्तरी घर भई हाल ललितपुर हात्तीवन बस्ने २७ वर्षीय विनय साह रहेका छन् ।
प्रहरीका अनुसार यी युवकले सामाजिक सञ्जालका विभिन्न माध्यम फेसबुक, टिकटक तथा इन्स्टाग्राममा ट्रेड लाइन सोनी ए७३ तथा बेस्ट बाई स्टोर (best buy store) जस्ता नाम राखेर सस्तो आईफोन पाइने भन्दै विज्ञापन गरेका थिए ।
त्यसपछि उक्त विज्ञापन देखेर खरिद गर्न आउनेलाई १० प्रतिशत अग्रिम भुक्तानी गरे बाँकी रकम किस्तामा तिरे पनि हुने आश्वासन देखाएर रकम लिन्थे । यसरी भुक्तानी लिएपछि सामानको डेलिभरी पुगिसकेको छ भनेर सूचना दिन्थे अनि कस्टम, डेलिभरी र इन्सुरेन्स चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भन्दै रकम असुल्थे ।
यसरी विभिन्न व्यक्तिबाट विभिन्न तरिकाले उनीहरूले १० लाख ३९ हजार रुपैयाँ ठगी गरेको पाइएकाे प्रहरीले जनाएकाे छ । साथै उनीहरूले अनलाइन माध्यममा वैदेशिक रोजगारीको विज्ञापन राखेर विभिन्न व्यक्तिहरूलाई ठगी गरेको पनि अनुसन्धानबाट खुलेकाे छ ।
यी युवकमाथि प्रचलित कानून अनुसार ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।