close

एनसेलको कर्मचारी युनियन भन्छ- ‘शेयर खरिद-बिक्रीबारे बाहिर भ्रामक प्रचार गरियो’

टेकपाना टेकपाना

मंसिर २७, २०८० १४:६

एनसेलको कर्मचारी युनियन भन्छ- ‘शेयर खरिद-बिक्रीबारे बाहिर भ्रामक प्रचार गरियो’

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको कर्मचारी संगठन स्वतन्त्र एनसेल कर्मचारी ट्रेड युनियन (आईएनईटीयू)ले कम्पनीकाे शेयर खरिदबिक्रीबारे सञ्चारमाध्यममा अत्यन्तै गैरजिम्मेवार र भ्रामक प्रचारप्रसार भइरहेको प्रतिक्रिया दिएकाे छ । ​​मङ्गलवार एक विज्ञप्ति जारी गर्दै युनियनले एनसेलमा रहेकाे रेनोन्ड होल्डिङको शेयर बिक्री कानूनसम्मत भएपनि चौतर्फी रूपमा भ्रामक प्रचार भइरहेको आरोप लगाएको हाे । 

"बजारमा कुनै पनि कुराको माग भएको अवस्थामा त्यसको किनबेच हुनु सामान्य कुरा हो । रेनोल्ड होल्डिङको शेयर खरिदबिक्री पनि क्रेता र बिक्रेताबीच भएको सहमतिको कारोबार हो," विज्ञप्तिमा भनिएको छ, "एनसेल लगायत नेपालको कानून बमोजिम स्थापित कुनै पनि कम्पनीले नेपालको कानून मान्नु पर्दछ र एनसेलले पनि कानूनको अधीनमा रहेर आफ्नो व्यवसाय तथा सेवा सञ्चालन गर्दै आएको छ । यसको साक्षी हामी स्वयम् रहेको छौं । यो कारोबारसँग सम्बन्धित कर, कानून पालना गनुपर्ने भएमा कानून अनुसार आफ्नो दायित्व पूरा गर्ने कुरा एनसेलले यसअघि नै स्पष्ट पारिसकेको छ ।"

यसका साथै एनसेलको ८० प्रतिशत स्वामित्व बहन गर्ने रेनोल्ड होल्डिङको शेयर खरिदबिक्री र यसको सम्झौताका सम्बन्धमा शेयर क्रेता र बिक्रेता कम्पनीको निर्णय भएसँगै उक्त प्रक्रिया सम्बन्धी विभिन्न तह र तप्काबाट चौतर्फी रूपमा एनसेल लक्षित अत्यन्तै गैरजिम्मेवार र भ्रामक प्रचारप्रसार भइरहेको युनियनको आरोप छ । ​एनसेललाई लक्षित प्रचारप्रसार कम्पनी, कर्मचारी, देशका नागरिक र सम्पूर्ण राष्ट्रको अहित रहेको युनियनको ठहर छ ।

जनमानसलाई भ्रममा पार्ने गरी भइरहेका गतिविधि र समाचार प्रचारप्रसारले देशमा लगानीको वातावरणलाई खलल पुर्‍याएको र निजी क्षेत्रलाई हतोत्साही पार्ने काम भएको युनियनको ठम्याइ छ ।

"रेनोल्ड होल्डिङ पहिले पनि विदेशी कम्पनी थियो र अहिले पनि विदेशी कम्पनी नै हो," विज्ञप्तिमा अगाडि भनिएको छ, "मात्र यसको स्वामित्व अब नेपाली मूलका व्यवसायीको लगानी रहेको स्पेक्ट्रलाइट यूकेमा आउन लागको हो । यो एक प्रकारले खुसीको कुरा पनि हो कि, अब एनसेलमा विदेशी होल्डिङ र स्वदेशी लगानीमार्फत नेपाली कै लगानी भएको छ ।"

कानून जस्तो जटिल कुरा र यसका प्रावधानलाई आफ्नो सीमित बुझाइका आधारमा व्याख्या गरेर भ्रम सिर्जना गरिएको समेत कर्मचारी युनियनकाे भनाइ छ । स्पेक्ट्रलाइट यूकेले अप्रत्यक्ष रूपमा रेनोल्ड होल्डि‌मार्फत एनसेलको स्वामित्व लिएपछि पनि कम्पनीले सम्पूर्ण कर्मचारी लगायत राज्यको हितको लागि काम गर्ने युनियनको विश्वास छ ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०८० १४:२७