close

लोकेसन हिस्ट्री र म्याप्स टाइमलाइन अब फोनमै स्टोर हुने

टेकपाना टेकपाना

मंसिर २९, २०८० १४:४८

लोकेसन हिस्ट्री र म्याप्स टाइमलाइन अब फोनमै स्टोर हुने

काठमाडौं । गुगलले अब आईओएस र एन्ड्रोइडमा हुने लोकेसन हिस्ट्री फोनमै भण्डारण गर्ने भएको छ । यसअघि क्लाउडमा मात्र भण्डारण हुने ती डेटा कम्पनीले प्रयोगकर्ताको फोनमै भण्डारण गर्न लागेको हो । 

अहिले लोकेसन हिस्ट्री गुगलको सर्भरमा भण्डारण हुने गर्छ । त्यसको विकल्पमा कम्पनीले छिट्टै प्रयोगकर्ताको फोनमै ती डेटा भण्डारण गर्ने सुविधा ल्याउन लागेको हो । त्यसपछि प्रयोगकर्ताले गुगल म्याप्स एपमा रहेको ‘योर टाइमलाइन’ अप्सनमा गएर आफ्नो लोकेसन हिस्ट्री एडिट तथा ब्राउज गर्न सक्नेछन् ।

फोनमै भण्डारण हुने डेटा ब्याकअपका लागि प्रयोगकर्ताले गुगलकै सर्भरमा पनि राख्न सक्छन् । सर्भरमा अपलोड हुँदा भने ती डेटा इन्क्रिप्टेड फर्ममा भण्डारण हुने कम्पनीको भनाइ छ । यसो हुँदा तपाईंबाहेक अन्य कसैलाई पनि तपाईंको डेटाको बारेमा जानकारी हुँदैन ।

यो सुविधाले प्रयोगकर्तालाई आफ्नो डेटामाथि उनीहरूको थप नियन्त्रण हुने कम्पनीको भनाइ छ । कम्पनीले सुरुवाती चरणमा यो फिचर एन्ड्रोइड प्रयोगकर्तालाई उपलब्ध गराउन लागेको छ । त्यसपछि आईओएसमा उपलब्ध हुनेछ । २०२४ को सुरुवातमा यो फिचर आउने अपेक्षा गरिएको छ । 

त्यस्तै यसअघि १८ महिनाभन्दा पुरानो गुगल म्याप एक्टिभिटी स्वतः डिलिट गराउन सकिन्थ्यो भने यसलाई परिवर्तन गरेर कम्पनीले तीन महिनाको बनाएको छ । यससँगै अब तीन, १८ र ३६ महिनाभन्दा पुरानो एक्टिभिटी स्वतः डिलिट हुने बनाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०८० १५:०