काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाका डेभलपरले सिस्टमको ब्याकअप नराख्दा वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन सर्टिफिकेट-एनओसी) वितरण प्रणाली प्रभावित भएको छ । डेभलपरले सफ्टवेयर मोडिफाई तथा अपडेट गर्ने क्रममा ब्याकअप नराखेकाले यस्तो समस्या आएको हो ।
हाल उक्त प्रणालीको ब्याकअप राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्तर्गत हेटौंडामा रहेको 'डेटा रिकभरी सेन्टर'बाट ल्याउने काम भइरहेको छ । टेकपानासँग कुरा गर्दै मन्त्रालयका एक प्राविधिक कर्मचारीले डेभलपरको लापरवाहीले गर्दा यो सेवा निम्तिएको बताए ।
"सम्बन्धित निकायको सफ्टवेयरमा कन्टेन्ट अपलोड, मोडिफाई वा अपडेट गर्ने क्रममा डेभलपरले आवश्यक ब्याकअप नराख्दा सेवा प्रभावित हुन पुगेको भन्ने छ," नाम नखुलाउने सर्तमा उनले भने, "अहिले डेटा रिकभरी सेन्टर हेटौंडाबाट ब्याकअप लिने काम भइरहेको छ ।"
मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले एनओसी प्रणाली आंशिक रूपमा सञ्चालनमा आइसकेको दाबी गरे । "आंशिक डेटा रिकभर भएर काम भइरहेको छ," उनले भने, "डेटा रिकभर गर्दा समय लागेको हो । आज वा भोलिसम्म सिस्टम पूर्ण रूपमा सञ्चालनमा आउँछ । प्राविधिक काम गर्ने मान्छेले डेटा रिकभर आज हुन्छ, भोलि हुन्छ भन्दाभन्दै लम्बिएको हो । उहाँहरू काम गरिरहनु भएको छ ।"
यता मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने जीआईडीसी (गभर्मेन्ट इन्ट्रिग्रेटेड डेटा सेन्टर)को सर्भर डाउन भएर समस्या आएको बताए । टेकपानाले यस विषयमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का कार्याकारी निर्देशक प्रदीप पौडेलसँग बुझ्दा उनले सर्भर डाउन नभएको बताए ।
"सबै प्रणाली नै राष्ट्रिय सूचना प्रविधि केन्द्रले चलाउने भन्ने होइन । हामीले स्रोत दिने हो । अहिले रिसोर्समा समस्या आएको होइन," उनले भने, "बत्ती गयो, विभिन्न किसिमको साइबर आक्रमण भए, एनआईटीसीको इन्टरनेट गयो, सर्भरमा एसी बिग्रियो भने सर्भर डाउन हुन्छ । त्यसमा हाम्रो तर्फबाट समस्या आउँछ । एनओसीको सन्दर्भमा सर्भर डाउन भएकै होइन ।"
विभिन्न सञ्चार माध्यममा सर्भर डाउन भएर समस्या आएको भन्ने समाचारबारे आफ्नो धारणा राख्दै पौडेलले जेजस्तो प्राविधिक समस्या आउँदा पनि एनआईटीसीलाई दोष दिएर उम्किने प्रवृत्ति रहेको बताए ।
"हामीले हार्डवेयरको भाग हेरेका हुन्छौं । सफ्टवेयरतर्फ सम्बन्धित निकायका कर्मचारीले सञ्चालन गरेका हुन्छन्," उनले थपे, "हामीले एनओसीलाई तीन ओटा भीएम सर्भर दिएका छौं । उहाँहरूले अपडेट गर्ने क्रममा प्राविधिक त्रुटि गरेकाले समस्या आएको हो ।"
एनआईटीसीले अन्य विभिन्न सरकारी निकायलाई सर्भर उपलब्ध गराएको हुन्छ । “त्यस्तोमा कुनै एउटाको सर्भर डाउन हुने अर्कोको नहुने भन्ने हुँदैन,” उनले अगाडि भने, "अहिले हेटौंडाको सर्भरबाट ब्याकअप तान्ने काम भइरहेको छ । ४ टीबीको डेटा १२ एमबीपीएसको दरले तानिरहेको छ । त्यसका लागि अझै केही समय लाग्छ ।"
पौडेलका अनुसार डेटा रिकभर भइसकेपछि आज वा भोलिमा पूर्ण रूपमा अनलाइनबाट एनओसी वितरण गर्ने प्रणाली पुनः सञ्चालनमा आउनेछ । एनओसी वितरण गर्ने अनलाइन प्रणालीमा समस्या आउँदा दैनिक हजारभन्दा बढी विद्यार्थी प्रभावित भएको बताइएको छ ।