close

इन्जिनियरिङका नेपाली विद्यार्थीलाई अनुसन्धान गर्न अमेरिकाबाट १५ लाख बढीको अनुदान

टेकपाना टेकपाना

पुस २, २०८० १६:३३

 

काठमाडाैं । नेपालमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले १५ लाख रुपैयाँ बढीकाे अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा केमिकल इन्जिनियरिङ अध्ययनरत विश्वास पनेरु र उनको समूहलाई अमेरिकाका पाँच प्रमुख इन्जिनियरिङ इन्स्टिच्युटहरूको साझा संस्था युनाइटेड इन्जिनियरिङ फाउन्डेसन (यूईएफ) ले अनुसन्धानका लागि ११ हजार ८७५ डलर (१५ लाख ८७ हजार रुपैयाँ) प्रदान गरेको हो ।

विश्वास पनेरुको समूहमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट हालै मेकानिकल इन्जिनियरिङ उत्तीर्ण अनुप पौडेल र नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तह अध्ययनरत विप्लव पनेरु रहेका छन् । उनीहरूलाई जलवायु समस्या समाधान सम्बन्धी अनुसन्धान गर्न अनुदान रकम प्रदान गरिएको हो । 

समूहले अब 'टेक्नो-इकोनोमिक एनालिसिस अफ कार्गोजेनिक सीओटू क्याप्चर प्रोसेस इन द कन्टेक्स अफ नेपाल एन्ड इट्स एप्लिकेसन' (Techno-economic analysis of cryogenic CO2 capture process in the context of Nepal and its applications) विषयमा अनुसन्धान गर्ने छन् । 

उक्त अनुसन्धानलाई अमेरिकन इन्स्टिच्युट अफ केमिकल इन्जिनियर्स (एआईसीएचई) ले आफ्नो अन्तर्राष्ट्रिय डेटाबेसमा प्रकाशन गर्ने बताइएको छ । साथै उक्त अनुसन्धानलाई उद्योगका विज्ञ र अमेरिकन सरकारले हेर्न सक्ने उल्लेख गरिएको छ । 

अनुदान रकम बाहेक पनेरुले एआईसीएचईको एक हजार अमेरिकी डलर बराबरका दुई महत्त्वपूर्ण कोर्ष अध्ययन गर्ने अवसर समेत प्राप्त गरेका छन् । 

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८१ १९:४८