close

सूचना प्रविधि सम्मेलन गर्दै काठमाडौं महानगरपालिका

टेकपाना टेकपाना

पुस ३, २०८० १४:५७

सूचना प्रविधि सम्मेलन गर्दै काठमाडौं महानगरपालिका

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो चैत महिनामा सूचना प्रविधि सम्मेलन गर्ने भएको छ । शासन सञ्चालन गर्न तथा सेवा प्रदान गर्न सरकारहरूले प्रयोग गरेका प्रविधि, सेवाग्राहीमा यसको पहुँच र प्रयोग, साझेदार सरकार तथा कार्यालयबीचको अन्तरसम्बन्ध, प्रविधि प्रयोग तथा विस्तार लगायतका विषयमा उक्त  सम्मेलनमा प्रस्तुतिकरण तथा छलफल हुने महागरले जनाएकाे छ ।

महानगरकाे सूचना प्रविधिका संयाेजक नवीन मानन्धरका अनुसार महानगरलाई जिम्मेवार, पारदर्शी तथा उत्तरदायी बनाउन, हालसम्मको उपलब्धिलाई संस्थागत र सिकाइलाई प्रवर्द्धन गर्न तथा नयाँ आविष्कारलाई ग्रहण गर्न महानगरपालिकाले नीति, योजना र कार्यक्रम बनाउनुपर्ने भएकाले सम्मेलनले उपयुक्त निष्कर्ष निकाल्ने बताए ।

महानगरका सूचना प्रविधि विभागका प्रमुख महेश काफ्ले नागरिकले अपेक्षा गरेको सेवाका लागि सरकारको प्रतिवद्धता देखाउन सूचना प्रविधि सम्मेलनले भूमिका खेल्ने बताए । ‘सम्मेलनबाट प्राप्त प्राज्ञिक तथा उपयोग योग्य प्रविधिले महानगरपालिकाको मात्र होइन, समग्र सरकारी कार्य प्रणालीलाई रुपान्तरण गर्नेछ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: पुस ३, २०८० १४:५७