close

साओमीको पहिलो बिजुली कार सार्वजनिक, ८०० किमिसम्म रेन्ज दिने दाबी

टेकपाना टेकपाना

पुस १२, २०८० १७:२६

साओमीको पहिलो बिजुली कार सार्वजनिक, ८०० किमिसम्म रेन्ज दिने दाबी

 

काठमाडौं । चिनियाँ कम्पनी साओमीले आफ्नो पहिलो विद्युतीय कार सार्वजनिक गरेको छ । विश्वका चर्चित विद्युतीय कार कम्पनीलाई टक्कर दिने लक्ष्यका साथ साओमीले बिहीवार एसयू सेभेन (SU7)  सार्वजनिक गरेको हो ।

साओमीका सीईओ तथा अध्यक्ष लेइ जुनले यो गाडी ग्राहकको आवश्यकता र सन्तुष्टिलाई पूरा गर्ने गरी डिजाइन गरिएको दाबी गरे । उनले अबको १५ देखि २० वर्षमा साओमी विश्वको उत्कृष्ट पाँचौं कार निर्माता कम्पनी बन्ने जिकिर गरे ।

लुक्स र पर्फमेन्स अनुसार यस गाडीलाई टेस्लाको मोडेल एससँग तुलना गरिएको छ । यो गाडीको उत्पादन सुरु भइसकेको कम्पनीले जनाएको छ । साओमीका सबै गाडी चिनियाँ कारमेकर कम्पनी बीएआईसी ग्रुपले बेइजिङमा निर्माण गर्नेछ ।

उक्त कम्पनीले वार्षिक दुई लाख सङ्ख्यामा कार उत्पादन गर्ने बताइएको छ । चार ओटा ढोका भएको साओमीको पहिलो विद्युतीय गाडी एसयू सेभेनको लम्बाइ ४,९९७ एमएम, १९६३ एमएम चौडाइ, १४५५ एमएम उचाइ तथा ३००० एमएम ह्विलवेस रहेको छ ।

साओमीले यो गाडीलाई ब्याट्रीको क्षमताको सन्दर्भमा दुई ओटा भेरियन्टमा बजारमा ल्याउने छ । विशेषगरी इन्ट्री लेभलको एसयू सेभेनमा ७३.६ किलोवाट आवर क्षमताको ब्याट्री हुनेछ भने टप भेरियन्टमा १०१ किलोवाट आवर क्षमताको ब्याट्री हुनेछ ।

साओमीले आफ्नै ‘सेल टु बडी’ (सीटीबी) प्रविधि विकास गरेको छ, जसले ब्याट्रीलाई गाडीमा इन्ट्रिगेट गर्छ । कम्पनीका अनुसार एसयू सेभेनले एक पटकको चार्जमा ८०० किलोमिटर रेञ्ज दिनेछ ।

कम्पनीले १२०० किलोमिटर रेञ्ज दिने ‘भी ८’ (V8) विद्युतीय गाडी २०२५ मा सार्वजनिक गर्ने जनाएको छ । यसमा भने १५० किलोवाट आवर क्षमताको ब्याट्री हुनेछ । स्वतः पार्क गर्ने फिचर पनि यो गाडीमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

सार्वजनिक कार्यक्रममा कम्पनीले यो गाडी कसरी स्वतः पार्क हुन्छ भन्ने पनि प्रर्दशन गरेको थियो । यसले हाइ रेजोलुसनको क्यामेरा, लाइडार, अल्ट्रासोनिक र र्‍याडर प्रयोग गर्छ । यसको मूल्य कति हुन्छ वा बजारमा कहिले उपलब्ध हुन्छ भन्नेबारे औपचारिक जानकारी दिइएको छैन ।

पछिल्लो अध्यावधिक: पुस १२, २०८० १७:२६