close

अनलाइनका मिथ्या सूचना चिन्न सिकाउने ५ गेम

टेकपाना टेकपाना

पुस १४, २०८० १९:२८

अनलाइनका मिथ्या सूचना चिन्न सिकाउने ५ गेम

काठमाडौं । इन्टरनेट दैनिक जीवनको एउटा हिस्सा बनिसकेको छ । समाचार हेर्न होस् वा कोहीसँग बातचित गर्न हामी अनलाइनमा जाेडिने गर्छाैं । तर सधैंभर हामीले वास्तविक सूचना अनलाइनबाट पाउँछौ भन्ने निश्चित छैन ।

पछिल्लो समय मिथ्या सूचना, अपूर्ण सूचना अनलाइनमा सजिलैसँग फैलिरहेका छन् । यसको शिकार हुनबाट बँच्न तथ्य जाँच आवश्यक पर्छ । तथ्य जाँच सिकाउन विभिन्न तालिमहरू सञ्चालन हुने गर्छन् । तर त्यस्ता तालिममा सबै सहभागी हुन सक्दैनन् ।

अहिले तथ्य जाँचका लागि विभिन्न टुल विकास भइरहेका छन् । यसका अतिरिक्त गेम खेल्दै पनि तथ्य जाँच सिक्न सकिन्छ । आज हामी अनलाइनमा उपलब्ध सूचना, समाचार कतिको साँचो हो वा होइन भनेर सिकाउने गेमबारे जानकारी दिँदैछौं:

ब्याड न्यूज (Bad News)  

यस गेममा नक्कली समाचार सम्प्रेषण गर्ने व्यक्तिको भूमिका तपाईंले निभाउनुपर्ने हुन्छ । गेम सामान्य, तर अर्थपूर्ण छ । यो खेलको नियम ​फलोअरको संख्या बढाउँदै अविश्वास कायम गराउनु हो ।

यसका लागि खेलको इन्टरफेसमा एकातिर फलोअर र विश्वसनीयताको मिटर दिइएको हुन्छ भने अर्कातिर कुराकानी गर्ने ठाउँ । तर खेल खेल्दै जाँदा कसरी गलत सूचना फैलिन्छ, मिथ्या सूचना फैलाउन के-कस्ता तरिका अपनाइन्छन् लगायतका जानकारी पाइन्छ ।

यो गेम खेल्न यहाँ क्लिक गर्नुहोस् । 

ह्विच फेस इज रियल (Which Face is Real)

वाशिङ्गटन विश्वविद्यालयका अनुसन्धानदाताहरूले बनाएको यो गेम निकै सामान्य छ । यसमा वास्तविक मान्छे र कम्प्युटर प्रयोग गरी तयार पारिएको मान्छेको अनुहार राखिएको हुन्छ, जुन तपाईंले अनुमान गरेर थाहा पाउनुपर्ने हुन्छ ।

डिप फेक र जेनेरेटिभ एआईको युगमा कुन कुरा साँचो र कुन नक्कली हो थाहा पाउनु निकै मुस्किल बन्दै गइरहेको छ । यस्तोमा यो गेमले वास्तविक र कम्प्युटरबाट तयार पारिएको मान्छेको अनुहार पहिचान गर्न सहयोग गर्छ । साथै ती बीचको फरक कसरी छुट्ट्याउने भनेर समेत सिक्न सकिन्छ ।

यो गेम खेल्न यहाँ क्लिक गर्नुहोस् । 

फेकी (Fakey) 

यो खेलमा सामाजिक सञ्जालमा हुने फिडजस्तै इन्टरफेस देखिन्छ । त्यसमा विभिन्न समाचार हुन्छन् । जसको ठीक तल शेयर, लाइक, फ्याक्ट चेक, हिन्ट र स्किपको बटन हुन्छन् । अब तपाईंले उक्त समाचारका आधारमा तल दिइएको विकल्प छान्नुपर्ने हुन्छ ।

त्यसै आधारमा तपाईंले स्कोर पाउनुहुन्छ । यदि तपाईंले सही विकल्प छाने अङ्क प्राप्त गर्नुहुन्छ । मिडिया साक्षरता सिकाउनु र गलत सूचनासँग मान्छे कसरी अन्तर्क्रिया गर्छन् भनेर अध्ययन गर्नु यस खेलको उद्देश्य रहेको छ ।

यो गेम खेल्न यहाँ क्लिक गर्नुहोस् । 

फाइन्ड द फेक (Find the Fake)   

यसमा गेम भने उमेर अनुसार खेल्नुपर्ने हुन्छ । खेल खेल्न भनेर जब आफ्नो अवतार चयन गरिन्छ, त्यसपछि खेलाडी संख्या समेत निर्धारण गर्नुपर्ने हुन्छ । यदि समूहमा खेल खेलिएको छ भने पहिलो खेलाडीलाई सुरुमा प्रश्न सोधिन्छ । त्यसपछि क्रमश: अन्य खेलाडीलाई प्रश्न सोधिन्छ । अन्त्यमा सबैले उत्तर दिइसकेपछि नतिजा देखाइन्छ ।

यस गेमबाट मिथ्या सूचनाबारे आफ्नो ज्ञान परीक्षण गर्न सकिन्छ । सँगसँगै मिथ्या सूचना के हो, यसलाई फैलिनबाट कसरी रोक्ने जस्ता कुरा सिक्न सकिन्छ ।

यो गेम खेल्न यहाँ क्लिक गर्नुहोस् । त्यस्तै नक्कली फेसबुक अकाउन्ट थाहा पाउन सिकाउने गेम खेल्न यहाँ क्लिक गर्नुहाेस् । 

बीबीसी आईरिपोर्टर (BBC iReporter)

११ देखि १८ वर्षका बालबालिकाहरूलाई अनलाइनमा मिथ्या सूचनाहरू पहिचान गर्न सहयोग गर्ने गरी बीबीसीले सन् २०१८ मा यो गेम सुरु गरेको थियो । तर पनि यो गेम मिथ्या सूचना थाहा पाउन सबैका लागि महत्त्वपूर्ण हुन्छ ।

यसमा तपाईंले बीबीसीको पत्रकारको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यस पात्रमार्फत तपाईंले कुन सामाजिक मिडिया पोष्टहरू, दाबीहरू र फोटोहरू वास्तविक छन् भनेर निर्णय गर्नु पर्ने हुन्छ । अनलाइनमा आउने मिथ्या सूचना कसरी पत्ता लगाउने भनेर तपाईंले गेम खेल्दा खेल्दै सुझावहरू समेत पाउन सक्नुहुन्छ ।

यो गेम खेल्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: पुस १४, २०८० २०:०