close

४५ लाख डलर पाउने लोभमा सात वर्षदेखि फेसबुकमा एउटै पोस्ट शेयर गर्दैछन् नेपाली !

टेकपाना टेकपाना

पुस १४, २०८० २०:२६

४५ लाख डलर पाउने लोभमा सात वर्षदेखि फेसबुकमा एउटै पोस्ट शेयर गर्दैछन् नेपाली !

काठमाडौं । केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट निकै भाइरल भइरहेको छ । ‘भाग्य छ भने तपाईंले फेसबुकको यो पोस्ट शेयर गरेबापत ४.५ मिलियन डलर पाउने’ शीर्षक राखिएको यो लिङ्क अत्यधिक फैलिएको छ । 

फेसबुकमा शेयर भएको लिङ्कको क्याप्सनमा स्वतः समाचार शैलीको कोट (लेख) पनि सँगसँगै मिसिएर भाइरल भइरहेको छ । उक्त कोटमा लेखिएको छ, “काठमाडौ । फेसबुकका सिईओ मार्क जुकेरबर्गले आफ्नो छोरीको जन्मपश्चात फेसबुक प्रयोगकर्तालाई ‘फेसबुक’ विश्वकै शक्तिशाली सञ्चारमाध्यम बनेको भन्दै प्रयोगकर्तालाई धन्यवाद दिएको आफ्नो पोष्ट शेयर गरेबापत भाग्यशाली हजार जनालाई लाखौँ डलर दिने विषय अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । आफ्नो उक्त पोष्ट शेयर गरेबापत हजार जना भाग्यशाली प्रयोगकर्तालाई ४.५ मिलियन डलर दिइने जुकेरबर्गले आफ्नो पोष्टमा समेत जानकारी गराएको छ ।”

यो क्याप्सन खोज्ने हो भने सबैभन्दा पहिले जनबोली डटकमबाट प्रकाशित भएको देखिन्छ । तर, लिङ्कभित्र गइसकेपछि ठूलो शीर्षकमा ‘यसलाई हटाइएको छ’ लेखिएको छ भने त्यसको लिडलाइनमा सम्पादकीय राखिएको छ, जसमा भनिएको छ, “फेक सन्देश फैलिरहेको छ भन्ने सन्देश दिन बनाइएको समाचारलाई समय सन्दर्भ अनुसार नमिल्ने देखिएपछि यसलाई हटाईएको छ । -सम्पादक ।”

उक्त सञ्चारमाध्यमबाट यो समाचार कहिले पोस्ट भएको हो भन्ने त्यस आधिकारिक लिङ्कमा उल्लेख गरिएको छैन । यद्यपि यही लिङ्क आर्काइभमा हेर्दा सोमवार ८ माघ २०७४ मा प्रकाशित भएको देखिन्छ ।

आर्काइभमा सो पोस्ट हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । टेकपानासँग कुरा गर्दै जनबोलीका सञ्चालक इन्द्रप्रसाद आचार्यले भने, “त्यो बेला भाइरल भएको कन्टेन्ट थियो यो । हामीले फ्याक्ट चेक गरेर भाइरल भएको कन्टेन्ट भनेर राखेका थियौं । यस्तै फोन धेरै आएर हामीले समाचार हटाएका थियौं । अहिले पनि पुरानो लिङ्क भाइरल भइरहेको रहेछ ।”

जनबोलीले राखेको उक्त समाचार अन्य विभिन्न सञ्चारमाध्यमले पनि प्रकाशित गरे । केही ब्लगपोस्टले राखे भने केही डटकम डोमेन एक्सटेन्सन भएका साइटले पनि आफ्नो वेबसाइटमा उक्त समाचारलाई स्थान दिए ।

अहिले गुगलमा यही शीर्षक राखेर सर्च गर्ने हो भने बडिमालिका खबर डटकम, टाइम्स अफ नेपाली, रातोकलम डटकम, थारुभगरा डटकम, हाम्रो इकोनोमी डटकम लगायतका वेबसाइटमा प्रकाशित भएको देख्न सकिन्छ । 

के थियो भाइरल समाचारमा ?

जनबोली डटकमबाट समाचार समाचारमा के थियो भन्ने हटाइएको भए पनि उक्त समाचार कपी गर्ने अन्य माध्यममा भने समाचार उस्तै छ । यही लेखको माथि फेसबुकमा लिङ्क शेयर हुँदा कोटका रूपमा जे राखिएको भनिएको छ, समाचारमा पनि त्यही छ । उक्त समाचारको तल भएको अङ्ग्रेजी क्याप्सन राखिएको छ ।

उक्त क्याप्सन मार्क जुकरबर्गले फेसबुकको ४५ अर्ब डलरको स्टक बाँड्न लागेको उल्लेख थियो । त्यस रकममध्येको १० प्रतिशत रकम तपाईं हामी जस्तै मान्छेले पाउने भनिएको छ । त्यसका लागि सोही क्याप्सन तत्कालै कपी गरेर पोस्ट गर्नुपर्ने भनिएको थियो ।

प्यासिफिक स्टान्डर्ड टाइमको मध्यरातमा फेसबुकले क-कसले पोस्ट गरेको छ भन्ने हेर्छ र त्यसबाट एक हजार जनालाई ४.५ मिलियन डलर उपलब्ध गराउने भनिएको थियो । र, अन्तिममा ह्याशट्याग मार्क जुकरबर्ग राखिएको थियो । त्यही क्रममा यही शैलीको अर्को क्याप्सन पनि भाइरल भएको थियो । त्यसमा आफ्ना पाँचदेखि १० जना साथीलाई ट्याग गरेर पोस्ट शेयर गर्न भनिएको थियो । 

एनबीसीका अनुसार यो क्याप्सन २०१५ को अन्ततिर फैलिएको थियो । एनबीसीसँग कुरा गर्दै फेसबुकका प्रवक्ताले त्यसबेला उक्त क्याप्सन ठगी गर्ने शैलीले फैलाइएको बताएका थिए । फेसबुकको आधिकारिक पेजबाट पनि त्यस्तो स्क्याम असान्दर्भिक रूपमा बढेकाले विश्वास नगर्न सर्वसाधारणलाई सचेत गराएको थियो । 

नेपालमा पनि सर्वसाधारणले नबुझेर यो समाचार भएको लिङ्क रकम पाउने आशमा शेयर गरिरहेको देखिन्छ । कतिपयले वेबसाइट सञ्चालकले ट्राफिक बढाउन यस्तो शैली अपनाएका हुन्छन् ।

थर्ड पार्टी कम्पनीबाट ‘एड रन’ गर्ने र ट्राफिकका आधारमा रकम आउने भएपछि विभिन्न वेबसाइटले यस्ता लिङ्क शेयर गरिरहेको पाइन्छ । त्यस्ता विज्ञापनले विशेषगरी स्क्याम साइट, मालवेयर डाउनलोड गर्ने लिङ्क वा झुक्याएर डेटा चोरी गर्ने साइटसम्म पुर्‍याएका हुन्छन् ।

नेपाली शब्दमा विज्ञापन राख्दा गुगल लगायत केही विज्ञापन कम्पनीले ‘एड्स’ स्वीकार गर्दैनन् । अङ्ग्रेजी वा अन्य भाषामा राख्दा अधिकांश नेपाली प्रयोगकर्ताले बुझ्दैनन् । त्यसैले विभिन्न वेबसाइट सञ्चालकले यसरी प्रयोगकर्तालाई असान्दर्भिक विज्ञापनसम्म पुर्‍याउन पनि यस्तो शैली अपनाएको देख्न सकिन्छ ।


 

पछिल्लो अध्यावधिक: पुस १४, २०८० २१:०