close

ब्युँतिदै अस्तित्वको संकटबाट गुज्रेको ह्वावे, एक वर्षमै गर्‍यो १०० अर्ब डलरको आम्दानी

टेकपाना टेकपाना

पुस १६, २०८० १७:१२

ब्युँतिदै अस्तित्वको संकटबाट गुज्रेको ह्वावे, एक वर्षमै गर्‍यो १०० अर्ब डलरको आम्दानी

काठमाडौं । दुई देश चीन र अमरिकाबीच शत्रुताको सिकार बनेको ह्वावेले सन् २०२३ मा १०० अर्ब डलरको आम्दानी गर्दै कम्पनी पुनः लयमा फर्किएको जनाएको छ । चीनको सेन्जेनमा आधारित प्रविधिको दिग्गज कम्पनी ह्वावेले सन् २०२३ को वर्षमा ७०० अर्ब युआन अर्थात ९९ अर्ब अमेरिकी डलर आम्दानी भएको उल्लेख गरेको छ ।

जुन सन् २०२२ को तुलनामा नौ प्रतिशत बढी हो, उक्त वर्ष कम्पनीको कूल आम्दानी ६४२.३ युआन अर्थात् ९२.४ अर्ब अमेरिकी डलर रहेको थियो । यद्यपि ह्वावेले सन् २०१९ मा कायम गरेको करिब १२३ अर्ब अमेरिकी डलरको तुलनामा न्यून हो ।

"वर्षौंको कठिन मेहनतपछि हामीले आँधीको धक्कालाई सामना गर्ने सामर्थ्य जुटाएका छौं । अब भने हामी धेरै हदसम्म आफ्नो लयमा फिर्ता भइसकेका छौं," ह्वावेका अध्यक्ष केन हुले सन् २०२३ को अन्त्यमा आफ्ना कर्मचारीलाई दिएको सन्देशमा भनिएको छ ।

गत अगस्टमा ह्वावेको मेट ६० प्रो सार्वजनिक भए पश्चात् कम्पनीले राम्रो आम्दानी गर्न सफल भएको हो । विदेशी चिपमाथि पहुँच बनाउन नसक्ने गरी ह्वावेलाई निमिट्यान्न पार्ने अमेरिकी प्रयासका बाबजुद कम्पनीले यस किसिमको अत्याधुनिक डिभाइस बनाएको देखेर यस क्षेत्रका विज्ञहरू चकित छन् ।

उक्त स्मार्टफोनलाई उपभोक्ताले उत्सुकताका साथ अँगालिरहेका छन् र चिनियाँ बजारमा ह्वावे एप्पललाई खुम्च्याउँदै अगाडि आउन सफल भएको काउन्टरप्वाइन्ट रिसर्चले उल्लेख गरेको छ । सेप्टेम्बरको अन्त्यतिर चिनियाँ बजारमा ह्वावे १० पाँचौं स्थानमा रहेको थियो ।

तेस्रो त्रैमासिकमा कम्पनीले १० प्रतिशतबाट आफ्नो बजार हिस्सा बढाएर १४ प्रतिशत पुर्‍याएको थियो । ह्वावेको डिभाइस व्यवसायले अपेक्षाभन्दा बढी विस्तार भएको अध्यक्ष हुले मेमोमा उल्लेख गरेका छन् ।

त्यसो त यो चिनियाँ कम्पनी एकताका विश्वको दोस्रो ठूलो स्मार्टफोन बिक्रेता रहेको थियो । तर अमेरिकी प्रतिबन्धका कारण पछिल्ला वर्षहरूमा कम्पनीले आफ्नो स्थान गुमाउँदै गएको थियो ।

अमेरिकी नीति निर्माताहरूले जासुसीका लागि चीन सरकारले ह्वावेका उपकरण प्रयोग गर्न सक्ने सम्भावना रहेको र त्यसबाट आफ्नो राष्ट्रिय सुरक्षा खतरामा रहेको दाबी गर्दै आएका छन् । तर कम्पनीले भने लगातार रूपमा त्यस किसिमका आरोपको खण्डन गर्दै आएको छ ।

अमेरिकी प्रतिबन्धका बाबजुद नै गएको वर्ष २०२३ मा भने ह्वावेले आफ्नो बाटो पुनः समात्न सफल भएको हो । गत मार्चमा कम्पनीले अमेरिकी प्रतिबन्धका कारण बच्चित हुनुपरेका उपकरणको प्रतिस्थापनमा प्रगति हात लागेको र आफू संकटबाट बाहिरिने अवस्थामा पुगेको बताएको थियो ।

मेट ६० प्रोभित्र रहेको प्रोसेसरलाई लक्षित गर्दै काउन्टरप्वाइन्ट विश्लेषकहरूले कम्पनीले किरिन चिपमा आधारित मोबाइलको उत्पादन बढाउँदै नयाँ वर्षमा समेत सफलता जारी राख्ने विश्लेषण नोभेम्बरको रिपोर्टमा गरेका छन् । गत मङ्गलवार नोभा अन्तर्गत कम्पनीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको थियो, जुन कम्पनीको मिड-रेञ्ज लाइनअप फोन हो ।

विश्लेषकहरूका अनुसार तुलनात्मक रूपमा सस्तो भएकाले उक्त फोनले लोकप्रियता हासिल गर्ने अपेक्षा व्यक्त गरिरहेका छन् । "कठिन मेहनतले हामीलाई बाँच्न र वृद्धि गर्न सक्षम बनाएको छ, तर हामीसँग अझै गम्भिर किसिमका चुनौति अगाडि छन्," हुले शुक्रवारको आफ्नो मेमोमा लेखेका छन् ।

"भूराजनीतिक र आर्थिक अनिश्चितता वरिपरि रहेका छन्, जसले गर्दा प्रविधिमाथिको प्रतिबन्ध र व्यापारमाथिको अवरोधले निरन्तर रूपमा विश्वलाई प्रभावित पारिरहेको छ ।"

पछिल्लो अध्यावधिक: पुस १६, २०८० १७:१२