close

नेपाली युवती दिल्ली पुर्‍याई अनलाइनमार्फत ग्राहक खोज्दै देह व्यापारमा लगाउने दम्पती पक्राउ

टेकपाना टेकपाना

पुस १६, २०८० १८:२

नेपाली युवती दिल्ली पुर्‍याई अनलाइनमार्फत ग्राहक खोज्दै देह व्यापारमा लगाउने दम्पती पक्राउ

काठमाडौं । नेपाली युवतीहरूलाई भारतको नयाँ दिल्ली पुर्‍याएर अनलाइन मार्फत देहव्यापारमा लगाउने एक दम्पतीलाई प्रहरले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंबाट खटिएको प्रहरी टोलीले गत बुधवार उक्त दम्पतीलाई कञ्चनपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका ७ स्थायी घर भएका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी ३१ वर्षीया अस्मिता भण्डारी रहेका छन् । ब्युरोका अनुसार पक्राउ परेका उनीहरू नेपाली युवतीलाई होटेल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने भन्दै प्रलोभन देखाउँथे । 

त्यसपछि नेपालबाट भारतको दिल्ली पुर्‍याई वेश्यावृत्तिका लागि आफैंले भाडामा लिएको अपार्टमेन्टमा राख्थे र यौन व्यवसायमा लाग्न बाध्य बनाउँथे । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले दिल्ली किसनगढ स्थित अपार्टमेन्ट भाडामा लिई खाने, बस्ने व्यवस्था समेत मिलाई वेबसाइटमार्फत विज्ञापन गर्थे र अनलाइन देहव्यापार (Online Prostitution) चलाउँथे ।

प्रहरीका अनुसार अनलाइन देह व्यापारका लागि ह्वाट्सएपमा ग्रुप बनाएका थिए । त्यही ग्रुपमा सम्पर्कमा आएका ग्राहकलाई अनलाइन भुक्तानी गर्न लगाउँथे । 

रकम पाइसकेपछि युवतीलाई उनीहरूले भनेको ठाउँमा पठाउँथे । त्यति मात्र नभई ती दम्पतीले वेश्यावृत्तिका लागि भाडामा लिएको अपार्टमेन्टमा सीसी क्यामेरा समेत जोडेर निगरानी गर्थे । 

पीडित युवतीलाई नयाँ मोबाइल, भारतीय सिम समेत उपलब्ध गराएर ह्वाट्सएप, फेसबुक आईडी बनाई पासवर्ड आफैंले राखेर अनलाइन निगरानी गर्ने गरेको समेत प्रहरीले उल्लेख गरेको छ । 

पक्राउ परेका आरोपीले भारत पुर्‍याएका नौ युवतीलाई ब्युरोको टोलीले ७ चैत २०७९ मा उद्दार गरेको थियो । सोही महिना उक्त दम्पती विरुद्धमा छ ओटा मुद्दा दर्ता भएका थिए । ती मुद्दामा तीन जना प्रतिवादी पक्राउ परी हाल पुर्पक्षका लागि कारागारमा थुनामा रहेको ब्युरोले जनाएको छ । 

अनुसन्धान जारी नै रहेको अवस्थामा स्थान परिवर्तन गरि पुनः नेपालबाट युवती झिकाई यौन व्यवसाय सञ्चालन गरिरहेको भन्ने सूचना ब्युरोमा प्राप्त भयो । त्यसैको आधारमा दिल्ली स्थित नेपाली दूतावास, भारतीय प्रहरी तथा किनइन्डिया (KIN INDIA) सँगको समन्वयमा गत मङ्गलवार थप पाँच जना पीडितलाई उद्धार गरिएको थियो । 

त्यसपछि उक्त आरोपित दम्पती फरार रहेको थियो । खोजतलासकै क्रममा गत बुधवार कञ्चनपुरको भारतीय सीमा इलाकाबाट उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

उनीहरूमाथि अहिले काठमाडौं जिल्ला अदालतबाट आदेश लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: पुस १८, २०८० १७:२