close

इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

टेकपाना टेकपाना

पुस १८, २०८० १७:२

इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न सरकार सकारात्मक रहेको बताएका छन् । बुधवार काठमाडौंमा नेपाल इन्जिनियर्स एसाेसिएसनको १६औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले स्टाफ कलेज स्थापनाका लागि सरकार तयार रहेका भनाइ राखे । 

“नेपाल इन्जिनियरिङ एसाेसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धि, पेसागत विकास र उन्नयनका लागि विगत लामो समयदेखि इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्ने विषयमा जोड दिँदै आएको छ,” उनले भने, “तपाईंहरूको यो चाहना र मागलाई मैले सकारात्मक रूपमा लिएको छु ।  इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने विषयमा सरकार सकारात्मक हुने विश्वास म दिलाउन चाहन्छु ।”

कलेज स्थापनाको विषयलाई आफूले गाह्रो कामका रूपमा नलिएको बताउँदै उनले संघ, प्रदेश र स्थानीय संरचनामा इन्जिनियर एवं प्राविधिक जनशक्तिको समुचित परिचालन र व्यवस्थापन हुनपर्नेमा जाेड दिए ।

इन्जिनियर/आर्किटेक्टलाई औपचारिक पढाइपछि कार्यक्षेत्रमा खटाउनुपूर्व तालिम तथा प्रशिक्षण दिन कलेज खाँचो भएको भन्दै इन्जिनियर्स एसाेसिएसन स्टाफ कलेजको माग गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस १८, २०८० १७:२