close

पृथ्वी यातायात अब पूर्ण अटोमेसनमा, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने

टेकपाना टेकपाना

पुस १९, २०८० ९:५२

पृथ्वी यातायात अब पूर्ण अटोमेसनमा, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने

काठमाडौं । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेसनमा गएको छ । यातायात क्षेत्रमा प्रविधि प्रयोग गरेर यात्रुलाई सहज र स्तरीय सेवा दिन पृथ्वी यातायात पूर्ण अटोमेसनमा गएको हो ।

अटोमेसनमा गएसँगै अब पृथ्वी यातायातका सवारीसाधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यालय सञ्चालन, चलानी, अभिलेखन लगायतका कार्य सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् ।

टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा कम्पनीले आफूलाई पूर्ण अटोमेसनमा लगेको हो ।

अटोमेसनमा गएको विषयमा पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले अबदेखि यात्रुहरूले पृथ्वी यातायातका एसी, डिलक्स, हायस लगायत सबै किसिमका गाडीको टिकट अनलाइनमार्फत काट्न सकिने जानकारी दिए ।

यात्रुहरूले पृथ्वी यातायातको पृथ्वी बस डटकम डट एनपी (prithivibus.com.np), पृथ्वी यातायातको मोबाइल एप्लिकेसन तथा बससेवा डटकम, बससेवाको मोबाइल एप्लिकेसन मार्फत टिकट काट्न सकिनेछ ।

पृथ्वी यातायातले पाेखरा, काठमाडौं, बुटवल, हेटौंडा, काँकडभित्ता, धनगढी लगायत ४१० ओटाभन्दा धेरै रुटबाट करिब १३५० बसमार्फत सेवा दिँदै आएको छ । 

पछिल्लो अध्यावधिक: पुस १९, २०८० १०:४