close

एक्सले ग्राहक पाएन, मासिक एक लाखभन्दा बढीले घट्यो गोल्डेन चेकमार्कको मूल्य*

टेकपाना टेकपाना

पुस १९, २०८० १४:१९

एक्सले ग्राहक पाएन, मासिक एक लाखभन्दा बढीले घट्यो गोल्डेन चेकमार्कको मूल्य*

काठमाडौं । कम्पनीको वित्तीय अवस्था खस्किँदै गएपछि एक्स (ट्वीटर) का मालिक एलन मस्कले गोल्डेन चेकमार्कको मूल्य अप्रत्याशित रूपले घटाएका छन् । मङ्गलवार एक्समा एक पोस्ट राख्दै उनले गोल्डेन चेकमार्कको मूल्य मासिक २०० डलर (करिब २६ हजार पाँच सय रुपैयाँ) कायम गरेका हुन् ।

ठूला व्यवसायका लागि उपयुक्त हुने उक्त चेकमार्कको मूल्य गत मार्चमा मासिक एक हजार डलर (करिब एक लाख ३३ हजार रुपैयाँ) कायम गरिएको थियो । लिगेसीका रूपमा पाएको भेरिफिकेसन ब्याज हटाउँदै उनले शुल्क तिरे मात्र सो चेकमार्क उपलब्ध गराउने घोषणा गरेका थिए ।

व्यक्तिगत रूपमा पाउने ब्लु चेकमार्कको मूल्य मासिक आठ डलर तोकिएको भएपनि व्यवसायले प्राप्त गर्ने चेकमार्कका लागि मासिक एक हजार डलर तोकिएको थियो ।

गोल्डेन चेकमार्कको कुनै तुक नभएको र केवल सजावटका लागि मात्र राखिने भन्दै त्यसको आलोचना पनि भयो । पछि ठूलो सङ्ख्यामा फलोअर हुने अकाउन्टलाई निःशुल्क चेकमार्क उपलब्ध गराउने बताएपछि उक्त विवाद शान्त भएको थियो ।

अहिले भने कम्पनीले सोही गोल्डेन चेकमार्क मासिक २०० डलर (करिब साढे २६ हजार रुपैयाँ) र वार्षिक दुई हजार डलर (करिब अढाई लाख रुपैयाँ) मा उपलब्ध गराउने बताएको छ । कम्पनीका अनुसार वार्षिक १२ हजार पर्ने गोल्डेन चेकमार्क पनि उपलब्ध हुनेछ । तर, सो चेकमार्कको तुलनामा वार्षिक दुई हजार पर्ने चेकमार्कमा केही कम फिचर हुनेछन् ।

वार्षिक दुई हजार डलर तिर्ने प्रयोगकर्ताले गोल्डेन चेकमार्क, प्रायोरिटी सपोर्ट, एड क्रेडिट र प्रिमियम प्लस सब्स्क्रिप्सन पाउनेछन् ।

यता फुल एक्सेस भएको गोल्डेन चेकमार्कमा पनि गोल्डेन चेकमार्क, प्रायोरिटी सपोर्ट, प्रिमियम प्लस, हायरिङ, टु एक्स बुस्ट र एफिलियसन जस्ता सुविधा रहेका छन् ।

यी दुई किसिमका सब्स्क्रिप्सन मोडेल हेर्दा फिचरमा त्यति भिन्न भएको देखिंदैन । तसर्थ कम्पनीले केही फिचर कटौती गरेर उक्त गोल्ड चेकमार्कको मूल्य घटाएको विश्लेषण गरिएको छ । 

यसरी कम शुल्कको चेकमार्क ल्याउँदा २०२४ मा आर्थिक अवस्था सुधार हुने कम्पनीको विश्वास छ ।

एक्समा स्टेक रहेको असिस्ट मेनेजर फाइडेलिटीले मस्कले एक्स जतिमा खरिद गरेका थिए, त्यसको मूल्य अहिले ७१.५ प्रतिशतले घटिसकेको अपेक्षा गरेको छ ।

मस्कले सन् २०२२ मा ट्वीटरलाई ४४ अर्ब डलरमा खरिद गरेका थिए । अहिले सो प्लेटफर्मको नाम एक्स राखिएको छ ।

*यस अघिको शीर्षकमा प्राविधिक त्रुटी रहेकाले सच्याइएको छ । यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं । 

पछिल्लो अध्यावधिक: पुस २०, २०८० १०:१५