काठमाडौं । खरिद गरेको दुई महिनापछि नै आईफोन १५ को बाहिरी पत्र उक्किन थालेपछि प्रयोगकर्ताहरू आक्रोशित बन्न थालेका छन् । एक रेडिट प्रयोगकर्ताले आईफोन १५ खरिद गरेको केवल डेढ महिनामै सफा गर्ने क्रममा कभर हटाउँदा पछाडिको भाग उक्किएको बताएका छन् ।
आफूले राइनोसिल्ड मोड एनएक्स केस प्रयोग गरेको बताउने मिस्टर_राकी (mr_rakue) नाम गरेका ती प्रयोगकर्ताले त्यसले फोनलाई असर पारेको कुरामा विश्वास गर्नै नसकिने उल्लेख गरेका छन् ।
उक्त पोस्टले समान त्यस्तै समस्या भोगेका अन्य प्रयोगकर्ताको ध्यान समेत खिचेको छ । उनीहरूले आफ्नो स्मार्टफोन एप्पल स्टोरमा लगेको र त्यहाँ उत्पादनसँग सम्बन्धित समस्या भएको बताइएको उल्लेख गरेका छन् ।
यो दाबी यस्तो समयमा आएको छ कि एक साता अघि मात्र प्याटेन्ट उलङ्घन गरेको दाबीका कारण एप्पल स्मार्टावाचको बिक्री रोकिएको थियो, तर कम्पनीको पुनरावेदन पश्चात् भने पुनः बिक्रीका लागि फिर्ता आएको छ । "पछाडि कभर हुँदा समेत यस प्रकारले उक्किएको देखेर म वास्तवमा निकै अचम्ममा परेको छु," मिस्टर_राकीले रेडिट पोस्टमा भनेका छन् ।
उनले अगाडि थपेका छन्, "यो त पछाडि भागमा टाँसेको स्टिकर उक्किएर गएजस्तो महसुस भयो ।" अन्य व्यक्तिहरूले प्रतिक्रिया दिंदै उनीहरूले समेत यस्तै किसिमको समस्या भोग्नु परेको बताएका छन् ।
जसमा एक जनाले भनेका छन् कि उनले आईफोन १५ प्रो खरिद गरेको दुई दिन पछि नै यस किसिमको समस्या देखिएको थियो । जेडीटी३३६५९ (JDT33658) नाम गरेका अर्का प्रयोगकर्ताले त्यस्तै समस्या आएपछि एप्पलले समग्र रूपमा नयाँ डिभाइससँग साटेको बताएका छन् ।
यस विषयमा एप्पलसँग प्रतिक्रियाका लागि सम्पर्क गरिएको तर कम्पनीले त्यसलाई सार्वजनिक रूपमा सम्बोधन नगरेको डेलिमेलले उल्लेख गरेको छ।